काठमाडौँ, जेठ १९ गते। सरकारले जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गर्नेदेखि लिएर प्रहरी बढुवा र महत्त्वपूर्ण नियुक्तिहरू सम्मका निर्णय गरेको छ।
बैठकका ४ मुख्य निर्णयहरू यसप्रकार छन्:
- १. ओजोन तह संरक्षण सम्झौता स्वीकृत: संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (UNEP) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ (Montreal Protocol) कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ।
- २. सशस्त्र प्रहरी एआईजीमा बढुवा: सशस्त्र प्रहरी नायब महानिरीक्षक (DIG) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
- ३. अध्ययन समितिको म्याद ४५ दिन थप: संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गरिएको छ।
- ४. भूमि समस्या समाधान समितिमा नयाँ नियुक्ति: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला (कास्की) लाई नियुक्ति गरिएको छ। यस्तै, सदस्य पदहरूमा श्री अमिर प्रसाद न्यौपाने (काठमाडौं), श्री पद्मिनी सोती (लमजुङ) र डा. रेहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय भएको छ।

प्रतिक्रिया