अस्ट्रेलियाको पश्चिमी र दक्षिणी कृषि क्षेत्रका किसानहरू यतिबेला इतिहासकै भयानक मुसाको महामारी (प्लेग) सँग जुधिरहेका छ।

हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो। जानकारी अनुसार मुसा नियन्त्रण गर्न र पुनः खेती गर्न किसानहरूले लाखौँ डलर खर्च गर्नु परिरहेको छ। किसानहरूले मुसाले खाइदिएको बाली पुनः रोप्न वा मुसाको विष छर्नका लागि आफ्नो अमूल्य खेतीको समय र लाखौँ डलर खर्च गर्नु परिरहेको छ।

विज्ञहरूका अनुसार गत वर्ष अस्ट्रेलियामा कीर्तिमानी अन्न उत्पादन भएको थियो। बाली भित्र्याउने क्रममा खेतभरि ठुलो मात्रामा अन्न छरियो, जसले मुसाका लागि पर्याप्त खानाको काम गर्‍यो। त्यसलगत्तै भएको गर्मी यामको वर्षाले खेतमा हरियो घाँस उम्रियो।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी (सीएसआईआरओ) का मुसा विशेषज्ञ स्टिभ हेनरीका अनुसार मुसाहरूले ६ हप्ताको उमेरदेखि नै प्रजनन सुरु गर्छ र हरेक १९ देखि २१ दिनमा ६ देखि १० वटासम्म बच्चा जन्माउँछ। पर्याप्त खाना र अनुकूल मौसमका कारण उनीहरूको जनसंख्या अनियन्त्रित रूपमा बढेको हो। यसको मुख्य जटिलता के हो भने, बच्चा जन्माएको दुई वा तीन दिनभित्रै पोथी मुसा पुनः गर्भवती हुन्छ। अर्थात् पहिलो बच्चा हुर्काउँदै गर्दा उसको पेटमा दोस्रो बच्चा हुर्किरहेको हुन्छ।

सामान्यतया प्रतिहेक्टर ८०० मुसा हुनुलाई ‘प्लेग’ अर्थात् महामारी मानिन्छ। तर, अहिले अस्ट्रेलियाका धेरै क्षेत्रमा यो संख्या कैयौँ गुणा बढी छ। हेनरीले हालै पश्चिमी अस्ट्रेलियाको भ्रमण गर्दा एक मिटर चौडा र १०० मिटर लामो पट्टीमा हिँड्दा मात्रै ३० देखि ४० वटा सक्रिय मुसाका खाडलहरू फेला पारेका थिए। यसको अर्थ प्रतिहेक्टर कम्तीमा तीन हजारदेखि चार हजार खाडलहरू थिए। दक्षिण अस्ट्रेलियाको अवस्था पनि यस्तै छ।

पश्चिम अस्ट्रेलियाकी कृषिविद् एवं किसान ५९ वर्षीया बेलिन्डा इस्टोफका अनुसार उनको क्यानोला खेतीमा प्रतिहेक्टर आठ हजारदेखि १० हजारसम्म मुसाहरू छन्। उनले भनिन्, ‘गत वर्षको अन्न र यो वर्षको हरियो घाँसका कारण मुसाहरूले ‘स्टेक र सलाद’ दुवै पाए। उनीहरूका लागि यो क्षेत्र पूर्ण रूपमा स्वर्ग बनेको छ। म अहिले एउटा दुःस्वप्न बाँचिरहेकी छु।’ उनी गहुँ, क्यानोला र लुपिन खेती गर्छिन्, जसमध्ये गहुँ दक्षिण-पूर्वी एसियामा उडोन चाउचाउका लागि निर्यात गरिन्छ। घरेलु रूपमा बिस्कुट, रोटी र पास्तामा पनि प्रयोग हुन्छ।

त्यस्तै, मिंगेन्यूमा १४ हजार हेक्टरमा फार्म चलाएर गहुँ, क्यानोला, लुपिन र जौ उब्जाउने ४३ वर्षीय किसान जियोफ कोसग्रोभले यो प्रकोप सन् २०२१ को महामारीभन्दा पनि भयानक रहेको बताए। सन् २०२१ मा न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा मुसाले यसरी आतंक मच्चाएको थियो कि एउटा जेलका सयौँ कैदीहरूलाई अन्यत्र सार्नु परेको थियो। कोसग्रोभ भन्छन्, ‘मैले २५ वर्षदेखि खेती गर्दै आएको छु तर यो वर्षको अवस्था २०२१ को भन्दा धेरै खराब छ।’

अहिले अस्ट्रेलियामा बाली रोप्ने मुख्य समय (शरद ऋतु) हो। तर, किसानहरूले दिउँसो वा साँझ रोपेको बीउ मुसाहरूले रातभरिमा खाइदिन्छन्। इस्टोफका अनुसार यदि बीउ छर्ने मेसिनको पछाडि-पछाडि तुरुन्तै चारा (विष) हालिएन भने मुसाहरूले रातभरिमा सबै बीउ खाइदिन्छन्। किसानहरूले राती ८ बजे (स्थानीय समय) मा रोपेर फर्किएको बाली भोलिपल्ट बिहान हेर्दा गायब भइसकेको हुन्छ र बालीका पङ्क्तिहरू नै हराउँछन्। यसले गर्दा किसानहरू फेरि लाखौँ खर्च गरेर पुनः बिउ रोप्न बाध्य छन्।

यो समस्या खेतमा मात्र सीमित छैन। मुसाहरू घर, गोदाम, भित्ता, छाना र वातानुकूलित (एसी) युनिटभित्र समेत पस्ने गरेको गुनासो उनीहरूको छ। सन् २०२१ को महामारीका बेला किसानहरूले पानीले भरिएका ठुला टबहरू प्रयोग गरेर मुसा समात्ने विशेष धराप (ट्र्याप) समेत बनाएका थिए।

६७ वर्षीय अवकाशप्राप्त किसान डेमियन रायनले पर्थबाट ३७० किलोमिटर उत्तरमा रहेको मोरावास्थित आफ्नो घरमा दैनिक २० देखि ३० वटा र गोठमा दैनिक लगभग १५० वटासम्म मुसा समात्दै आएको अनुभव सुनाए। ५० वर्षको खेतीपातीको अनुभवमा उनले यति भयानक अवस्था कहिल्यै देखेका थिएनन्। रातको समयमा सडकमा गाडी गुडाउँदा जताततै मुसाहरू दौडिरहेको देख्न सकिन्छ।

अन्तर्राष्ट्रिय बजारमा फेब्रुअरी महिनामा इरानमाथिको युद्ध र तनाव सुरु भएदेखि डिजेल र मलको मूल्य पहिले नै दोब्बर भइसकेको छ। यसैबिच मुसाको प्रकोप थपिँदा किसानहरू दोहोरो मारमा परेका छ।

यसको आर्थिक लागतसँगै किसानहरूमा चरम मानसिक तनाव देखिएको छ। वैज्ञानिक स्टिभ हेनरी भन्छन्, ‘यदि खडेरी परेको भए तपाईं घरभित्र छिरेर, ढोका थुनेर एसी अन गरी आराम गर्न सक्नुहुन्थ्यो। तर मुसाको हकमा, तपाईं घरभित्र पसेर दराज खोल्नुहुन्छ, त्यहाँ मुसा हुन्छ। राती ओछ्यानमा सुत्दा तपाईंको शरीरमाथि मुसा कुदिरहेको हुन्छ। उनीहरूको गन्ध कुहिएको लास जस्तो आउँछ। यसले मानिसलाई मिक्स्चरमा हालेजस्तो पागल बनाउँछ।’

लामो समयको पर्खाइपछि अस्ट्रेलियाका नियामकहरूले मुसा मार्ने उच्च शक्ति भएको कडा चारा (विष) प्रयोग गर्न अनुमति दिएका छन्। यसका साथै अब जाडो मौसम सुरु हुन लागेको र वर्षाको सम्भावना रहेकाले चिसो र ओसिलो वातावरणका कारण आगामी हप्ताहरूमा मुसाको संख्या घट्ने र आफूहरूले राहत पाउने आशामा किसानहरू रहेका छ। जाडो बढेपछि अन्ततः मुसाहरू रोकिने विश्वास कोसग्रोभको छ। बीबीसीको सहयोगमा