इटहरीमा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।
आफ्ना दिवङ्गत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा श्री जनसहयोग माध्यमिक विद्यालय इटहरीको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कवितासहित मकवानपुरका सुवास सजल दोस्रो र ‘बारुद’ शीर्षकको कवितासहित इलामका ऋजन मायालु तेस्रो भएका छन्।
उनीहरूले क्रमशः ४१ हजार ५५५ र ३१ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
अन्तिम चरणका लागि छनोट भएका अन्य सात प्रतिस्पर्धीहरू अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी) लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सिर्जनशील पुरस्कार’ प्रदान गरियो।
कवि मनु मञ्जिलका अनुसार देशभरबाट प्राप्त ५४७ कवितामध्ये १० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो। प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषित वशिष्ठ र हेमन यात्री रहेका थिए।
कार्यक्रममा भारतको दार्जिलिङबाट आएका वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो। सोही अवसरमा सर्जक महेशबाबु तिम्सिनाद्वारा लिखित कविता सङ्ग्रह ‘अक्षरहरूको क्यानभास’ को विमोचन समेत गरियो।
आयोजक समूहका सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कविहरू राजा पुनियानी, देवान किराती, भूषित वशिष्ठ, हेमन यात्री, चन्द्र गुरुङ, टीका आत्रेय र धिरज राईले समेत आफ्ना रचना वाचन गरेका थिए।


प्रतिक्रिया