प्रदीप खड्का र शिभाली गुरुङ १२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा सिंगल्सतर्फ पुरुषमा प्रदीप र महिलामा शिभाली च्याम्पियन भएका हुन्।

दुवैले पहिलो सेटमा पछि परेको स्थितिलाई उल्ट्याए। पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३ र ६–४ को सेटमा पराजित गरे।

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा महिला सिंगल्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ३–६, ६–३ र ६–१ को सेटमा हराइन्।

नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगितामा कुल १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुष डबल्समा प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी तथा ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीको जोडी च्याम्पियन भए।

३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडी, ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडी पहिलो भए।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी, ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, ६५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडी तथा ७० वर्षमाथि पुरुष सिंगल्समा धीरबहादुर गुरुङ च्याम्पियन बने।

विजेतालाई सिटिजन्स बैंकका निर्देशक विजयध्वज कार्की र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र महासचिव निरेश श्रेष्ठ, आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष प्रवीण वैद्यलगायतले पुरस्कृत गरेका थिए।

विभिन्न १२ स्पर्धामा एक सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सबै स्पर्धाका पदक विजेतालाई आयोजकको तर्फबाट कुल पाँच लाख ६८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसबाहेक सिटिजन्स बैंकले पुरुष/महिला सिंगल्सका विजेता र उपविजेतालाई छुट्टै कुल एक लाख ३१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराएको थियो।