नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन्।

नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा भएको खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो भएका हुन्।

ट्रेल रनमा राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गरे। ताप्लेजुङका रमेश लिम्बुले २ घण्टा ७ मिनेट ३० सेकेन्ड तथा आर्मीका गोपाल तामाङले २ घण्टा ७ मिनेट ४२ सेकेन्डमा दूरी तय गरे।

आर्मीका गजेन्द्र राई चौथो, प्रवल क्षेत्री पाँचौ, राजेन्द्र तामाङ छैटौं, तिलकबहादुर सुनार सातौं, विरेन्द्र पाण्डे आठौं, विशाल नवौं र रिखुलाल सिन्जाली मगर दसौं स्थानमा रहे।

सुनमायाले निर्धारित दूरी पूरा गर्न २ घण्टा २७ मिनेट १४ सेकेन्डा समय खर्चिन्। आर्मी सुनसरी रोकाया दोस्रो र खोटाङकी निर्मला राई तेस्रो भए। दौड सकाउन सुनसरीले २ घण्टा ४४ मिनेट ५३ सेकेन्ड तथा निर्मलाले २ घण्टा ४६ मिनेट २९ सेकेन्ड समय लगाए।

फ्रान्सकी एलिस विसकेफ, आङ फुर्वा शेर्पा, काब्या रावल, सपना गुरुङ, शासा श्रेष्ठ, मुना लिम्बु र शारदा राईले क्रमशः चौथोदेखि दसौं स्थानमा दौड टुंगाए। दुवै समूहमा शीर्ष पाँच स्थानमा रहने क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार जिते। छैटौंदेखि दसौं स्थान हात पार्नेलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

जुनियर यु–२० को ७ किलोमिटर दूरीको पुरुषमा उत्तम तामाङ २१ मिनेट ९ सेकेन्ड समय निकाल्दै पहिलो भए। सुसन लामिछाने २१ मसनेट १५ सेकेन्डमा दोस्रो तथा खकेन्द्र शर्मा २१ मिनेट १९ सेकेन्डमा तेस्रो बने। सोही स्पर्धाको महिलामा शर्मिला गोले पहिलो भइन्।

शर्मिलाले २७ मिनेट १९ सेकेन्डमा दूरी पार गरिन्। गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए। गीताले २७ मिनेट ४८ सेकेन्ड र मनिषाले २८ मिनेट २८ सेकेन्ड समय निकाले। दुवै समूहमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पारे। दसौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

दोस्रो भएकी गीताको नतिजा भने प्राविधिक कारणले हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ। ३६ किलोमिटर दौड चाँगुनारायण मन्दिर परिसरबाट सुरु भई त्रिशुल डाँडा, तेलकोट, श्री पञ्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टावर, मुहान पोखरी, पानी मुहान र पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर सकिएको थियो। ७ किलोमिटर दौड भने चाँगुनारायण मन्दिर परिसरबाट सुरु भई त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर टुंगिएको थियो।

विजेतालाई बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ र सचिव दिपेन्द्र सुवेदी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकासदस्य जगतसिंह धामी र सन्तकुमार मेहता, राखेपका पूर्व सदस्य सम्पन्न श्रेष्ठ, राखेप कार्यकारी समितिका पूर्व सदस्य एवं आयोजक संघका अध्यक्ष एकेन्द्र कुँवर, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, प्रायोजक केएफसीका प्रतिनिधि सन्दीप कार्की, १४ पिक आउटडोरका प्रतिनिधि विक्रम कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

त्यसअघि प्रतियोगिताको चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्रीले उद्घाटन गरेका थिए। प्रतियोगितामा २ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजन खत्रीले जनाएका छन्।