लिगमा बेहोरेको हारको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दसौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।
त्रिपुरेश्वरमा शनिबार सम्पन्न फाइनलमा बदला लिँदै रुकुम पश्चिम र पुलिस क्रमशः पुरुष र महिलामा च्याम्पियन भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फ फाइनलमा पुलिस न्यु डायमण्ड स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जितसँगै चौथोपल्ट च्याम्पियन भयो।
पुरुषतर्फ फाइनलमा भने रुकुम पश्चिमले हेल्प नेपाल स्पोटोर्स क्लबलाई ३–० को सोझो सेटमा जित आत्मसात् गर्यो। रुकुम पश्चिम पहिलोपल्ट च्याम्पियन भएको हो।
पुलिस र रुकुम पश्चिम दुवैले लिगचरणमा बेहोरेको हारको बदला फाइनलमा लिए। लिगमा न्यु डायमण्डले पुलिसमाथि ३–२ र हेल्प नेपालले रुकुम पश्चिममाथि ३–१ को सेटमा जित निकालेका थिए।
फाइनलमा भने न्यु डायमण्ड र हेल्प नेपाल दुवै असफल भए। न्यु डायमण्डका मिडल ब्लकर सुमित्रा रेग्मी र ओपन स्पाइकर जेनिसा विश्वकर्मा फाइनलमा चल्न सकेनन्।
न्यु डायमण्डले रिसिभ पनि राम्रो गर्न सकेन। यससँगै च्याम्पियन भएर काभा महिला क्लब च्याम्पियनसिप खेल्ने न्यु डायमण्डको लक्ष्य पूरा भएन। पुलिस भने तेस्रोपल्ट काभा क्लब च्याम्पियन हुने लक्ष्यमा छ। पुलिसमा पुनम चन्द र मनीषा चौधरी जस्ता अनुभवी खेलाडीको अभाव खड्किएन।
पुनमको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गरिन्। पुलिसले रिसिभमा पनि धेरै सुधार गर्यो। यससँगै पुलिस डायमण्डमाथि बदला लिन सफल भयो। पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो बनायो।
न्यु डायमण्डले दोस्रो सेट २५–१६ ले जित्दै पुनरागमनको संकेत गर्यो। तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो। अन्ततः पुलिसले यो सेट २५–२३ ले आफ्नो बनाउँदै फेरि अग्रता लियो। चौथो सेटमा १८–१८ स्थितिसम्म न्यु डायमण्डले चुनौती दियो।
यसपछि न्यु डायमण्ड समालिन सकेन। यो सेट पनि २५–१९ ले गुमाएपछि डायमण्ड उपाधिबाट बन्चित भयो। सोझो सेटमा नतिजा आए पनि पुरुषतर्फ उपाधि भिडन्त निकै रोमाञ्चक बन्यो। तीनमध्ये दुई सेटमा २५ अंकभित्र नतिजा आउन सकेन। रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका थिए। लिगभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन पनि देखायो। लिगमा दुवैले समान एक हार सामना गरेका थिए।
रुकुम पश्चिमले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्यो र पहिलोपल्ट च्याम्पियन पनि भयो। रुकुम पश्चिमले हेल्प नेपाललाई पहिलो सेट २९–२७, दोस्रो सेट २५–२१ र तेस्रो सेट ३२–३० ले हरायो। महिलामा विजेता पुलिस र पुरुषमा विजेता रुकुम पश्चिमले समान १० लाख रुपैयाँसँगै ट्रफी प्राप्त पाए।
महिलामा उपविजेता न्यु डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपालले समान पाँच लाख रुपैयाँ प्राप्त गरे। एभरेस्ट महिला भलिबल क्लब र पुरुषमा पुलिस तेस्रो भए।
दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे। पुरुषमा रुकुम पश्चिमका फहाद राज र महिलामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए। दुवैले ६० हजार पाए।
विधागत उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार पाए। उत्कृष्ट लिबेरोमा डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सेटरमा डायमण्डकी प्रगति नाथ, उत्कृष्ट सर्भरमा सुमित्रा रेग्मी, उत्कृष्ट स्पाइकरमा पुलिसकी लक्ष्मी चन्द र बेस्ट ब्लकरमा सुमित्रा नै उत्कृष्ट भए। उत्कृष्ट प्रशिक्षक पनि पुलिसकी रूपेश विष्ट भए।
उत्कृष्ट लिबेरोमा राजन दर्लामी (रुकुम), उत्कृष्ट सेटरमा अदनान खान, उत्कृष्ट सर्भरमा मुहदर, उत्कृष्ट स्पाइकर अफा खान, उत्कृष्ट ब्लकरमा चिरञ्जीवी खड्का र प्रशिक्षकमा तेज बुढा उत्कृष्ट भए। उत्कृष्ट सबैले ३० हजार रुपैयाँ पाए। नेपाल भलिबल संघ (एनभिए) को आयोजना भएको एनभिए लिगमा महिलातर्फ ६ र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।
गत पुसमा सम्पन्न एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन्।
पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपिएफ, पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बुढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए। महिलामा भने न्यु डायमण्ड यूथ स्पोटर्स क्लब, पुलिस, एपिएफ, सुदूरपश्चिम प्रदेश, एभरेस्ट र आर्मी क्लबको प्रतिस्पर्धा रह्यो।


प्रतिक्रिया