मध्यपूर्वमा जारी युद्ध र तनाव अन्त्यका लागि संयुक्त राज्य अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा ऐतिहासिक प्रत्यक्ष वार्ता भइरहेको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि यी दुई राष्ट्रबिच भएको सबैभन्दा महत्त्वपूर्ण र सिधा वार्ता यहि नै हो।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको मध्यस्थतामा भइरहेको त्रिपक्षीय वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्।

वार्ता टोलीमा विशेष दूत स्टिभ विट्कफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर समेत सहभागी छन्। इरानको ७० सदस्यीय टोलीको नेतृत्व त्यहाँका संसदका सभामुख मोहम्मद बागेर कलिबाफ र विदेशमन्त्री अब्बास अराक्चीले गरिरहेका छन्।
वार्ता सुरु भएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मार्फत इरानले नराम्ररी युद्ध हारिरहेको दाबी गरेका छन्।

उनले इरानी नौसेना, वायुसेना र क्षेप्यास्त्र उद्योगहरू ध्वस्त भएको उल्लेख गर्दै इरानलाई परमाणु हतियारविहीन बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
ट्रम्पले रणनीतिक महत्त्वको हर्मोज जलसन्धि खुला गर्न अमेरिकी नौसेनाले काम सुरु गरिसकेको समेत जनाएका छन्।
इरानी सभामुख कलिबाफले अमेरिकासँगको विगतको वार्ताको अनुभव तीतो रहेको भन्दै उनीहरूले वाचा तोड्ने गरेको टिप्पणी गरेका छन्।
इरानले प्रतिबन्धित सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा इजरायली आक्रमण रोकिनुपर्ने अडान राखेको छ। यद्यपि, ह्वाइट हाउसले कतारमा रहेको इरानी सम्पत्ति फुकुवा गर्ने सहमति भइसकेको भन्ने दाबीलाई अस्वीकार गरेको छ।
इस्लामावादमा शान्ति वार्ता चलिरहँदा इजरायलले भने लेबनानमा आक्रमण जारी राखेको छ। इजरायली सेनाले पछिल्लो २४ घण्टामा हिजबुल्लाहका २०० भन्दा बढी ठेगानामा बमबारी गरेको जनाएको छ।
जसमा ६ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

वार्ताका लागि इस्लामावादको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। पाकिस्तानले दुवै पक्षलाई सहजीकरण गर्न विज्ञहरूको विशेष टोली परिचालन गरेको छ।


प्रतिक्रिया