इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ को महत्त्वपूर्ण भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) सामु जितका लागि २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाएर २५४ रनको सानदार योगफल तयार पारेको हो।
बैंगलुरुको इनिङ्सलाई विशाल आकार दिन कप्तान रजत पाटीदारले विष्फोटक पारी खेले। उनले मात्र ३३ बलको सामना गर्दै ५ चौका र ९ विशाल छक्काको मद्दतमा अविजित ९३ रन बनाए।
उनको स्ट्राइक रेट २८१.८१ रहेको थियो। मध्यक्रममा क्रुणाल पण्ड्याले उनलाई उत्कृष्ट साथ दिँदै २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनको महत्त्वपूर्ण योगदान दिए।
त्यस्तै, ओपनिङमा आएका विराट कोहलीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ५ चौका र १ छक्कासहित ४३ रन जोडे। अर्का ब्याटर देवदत्त पडिक्कलले १९ बलमा ५ चौकासहित ३० रन बनाए भने वेंकटेश अय्यरले ७ बलमै १९ रन जोडेर आउट भए।
इनिङ्सको अन्त्यतिर विकेटकिपर जितेश शर्माले मात्र ५ बलमा अविजित १५ रन प्रहार गर्दै टिमको रन रेट १२.७० पुर्याएका थिए। टिम डेविड भने ४ रनमै पभेलियन फर्किए।
सुरुवाती ओभरमै २१ रनको स्कोरमा वेंकटेश अय्यरलाई कागिसो रबाडाले आउट गराएका थिए। त्यसपछि विराट र देवदत्तले इनिङ्स सम्हाले पनि नवौँ ओभरमा बैंगलुरुले लगातार दुई विकेट गुमायो।
९३ रनको अवस्थामा विराट कोहली जेसन होल्डरको बलमा बोल्ड भए भने लगत्तै ९४ रनको अवस्थामा पडिक्कल पनि होल्डरकै बलमा विकेटकिपर जोस बटलरबाट क्याच आउट भए।
त्यसपछि चौथो विकेटका लागि कप्तान पाटीदार र पण्ड्याले ९५ रनको सानदार साझेदारी गर्दै टोलीलाई विशाल योगफलतर्फ डोर्याएका थिए।
बलिङतर्फ गुजरातका बलरहरू आज निकै महँगा साबित भए। जेसन होल्डरले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक २ विकेट लिए।
त्यस्तै, कागिसो रबाडाले ४ ओभरमा ५४ रन दिएर २ विकेट लिए भने प्रसिद्ध कृष्णाले ४ ओभरमा ५३ रन दिएर १ विकेट हात पारे।
अनुभवी स्पिनर राशिद खानले ३ ओभरमा २९ रन दिएर किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्। मोहम्मद सिराजले ३ ओभरमा ४६ रन र कुलवन्त खेजरोलियाले २ ओभरमा ३१ रन खर्चिए।
अब उपाधि भिडन्तका लागि फाइनलमा सीधै प्रवेश गर्न गुजरातले १२.७५ को रन रेटमा २५५ रन बनाउनुपर्नेछ।
आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले क्वालिफायर-२ मा अर्को मौका पाउनेछ।


प्रतिक्रिया