हप्तामा दुई दिन बिदा दिने निर्णयले सेवाग्राहीहरूलाई सकस उत्पन्न गरेको छ। हप्तामा दुई दिन बिदा दिने निर्णय यसअघि दुई पटक प्रयोगमा आइसकेको छ तर दुवै पटक असफल भइसकेको छ।

नेपाल जस्तो देश जँहा सार्वजनिक बिदाहरू धेरै छन्, त्यस देशमा हप्तामा दुई दिन बिदा दिने निर्णय एकदमै अव्यवहारिक हुने विज्ञहरूको भनाइ छ।

भूमि व्यवस्था सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारीहरूले हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिई आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाई दिन हुन भन्दै मन्त्रालयमा निवेदन आएको छ।

आइतबार समेत बिदा दिने निर्णयले वित्तीय संघ संस्थाहरू समेत बन्द हुने भएकोले सेवाग्राहीहरू मर्कामा परेको भन्ने गुनासो आउन थालेको अर्थ मन्त्रालयका एक उच्च कर्मचारीले बताए। उनले भने,‘आइतबार बिदा दिने निर्णय अव्यवहारिक भयो भन्ने कुरा आएको छ।’

पूर्वाधार मन्त्रालयका उपसचिव तथा सडक डिभिजन दोलखाका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बिदाको दिनमा सरकारी सवारी साधन प्रयोग गर्न नमिल्ने भएकोले सडक निर्माण काम भइरहेको ठाउँमा अनुगमन तथा निरीक्षण गर्न कठिनाइ उत्पन्न हुने बताए।

‘बिदाको दिनमा पनि निर्माणको काम भइरहेको हुन्छ। फिल्डमा जानु पर्‍यो भने सरकारी साधन प्रयोग गर्न मिल्दैन। बिदाको दिन गाडी चलाउनकोलागि सजिलैसँग जिल्ला प्रशासन कार्यालयबाट पास पाइन्न। पास लिए पनि बिदाको दिनमा सरकारी सवारी साधन चलाउँदा स्पष्टीकरण दिन नपाउँदै गाडीको दुरुपयोग भन्दै सामाजिक सञ्जालमा फोटो आउँछ’भण्डारीले भने,‘त्यसैले बिदाको दिन हामी सकेसम्म सरकारी सवारी साधन गुडाउन चाहन्नौ।’

दुई दिने बिदाले खास गरी सडक निर्माण क्षेत्रमा अनुगमन र निरिक्षणमा समस्या आएको उनको भनाइ छ।

आइतबार समेत बिदा हुँदा जग्गा प्रशासन तथा खरिद विक्रीको काममा सेवाग्राहीहरूले झन्झट भोग्ने गरेको भूमि व्यवस्थापन विभागका एक कर्मचारीले बताए।

उनले भने, ‘सेवाग्राहीहरू सामान्यता बिहानै ९ बजे पुग्दैनन्। उनीहरू पुग्ने भनेको १०/११ बजे हो। आइतबार पनि बिदा हुँदा अन्य दिन कार्यालयमा ठूलो भिडभाड हुने गरेको छ।’

प्रशासन विज्ञ काशीराज दाहालले दुई दिने बिदालाई व्यवस्थापन गर्न सके, सेवा प्रवाहलाई सिस्टममा ल्याउन सके तथा डिजिटल शासनको सुरुवात गर्न सके राम्रो हुने, नभए अव्यवहारिक हुने बताए।

पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताको कारण देखाउँदै सरकारले चैत २३ गते देखि लागु हुने गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णयसँगे अब सरकारी कर्मचारी र शिक्षकले वर्षमा कम्तीमा १४५ दिन सार्वजनिक बिदा पाउने छन्।

यसअघि गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८३ सालका बिदा स्वीकृत गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारले स्वीकृत गरेको बिदा सूची राजपत्रमा पनि प्रकाशित भइसकेको छ।

२०८३ सालमा ५२ वटा शनिबार र ५२ वटा आइतबार छन्। अघिल्लो सरकारले ३७ दिन विभिन्न पर्व बिदा र चार दिन विभिन्न दिवस बिदा स्वीकृत गरेको। यस आधारमा वर्षमा १४५ दिन सार्वजनिक बिदा हुनेछ। यसबाहेक कर्मचारीले छुट्टै बिदा पाउँछन्। उनीहरूले पाउने बिदाबारे निजामती सेवा नियमावलीमा व्यवस्था गरिएको छ।

सातामा दुई दिन बिदा दिने निर्णय यसअघि दुई पटक भएको थियो। दुवै पटकको निर्णय स्थायित्व भने पाएनन्। २०५६ सालमा करिब ६ महिना सातामा दुई दिन सार्वजनिक बिदाको अभ्यास भएको थियो। दुई दिन बिदा दिने निर्णयबाट सरकार ६ महिनामै पछि हटेपछि उक्त निर्णयले निरन्तरता पाएन।

२०४८ सालमा गठन भएको प्रशासन सुधार सुझाव आयोगको सिफारिसमा तत्कालीन सरकारले २०५६ सालमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसपछि २०७९ जेठ र असारमा सातामा दुई दिन बिदा दिइएको थियो।

उक्त निर्णय २०७९ साउन १ गतेदेखि लागु हुनेगरी खारेज गरिएको थियो। त्यतिबेला इन्धनमा सरकारी खर्च जोगाउने उद्देश्यले सातामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको थियो। सातामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भन्दै विरोध भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो।

२०७७ सालमा योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला सातामा दुई दिन बिदा दिन पहल गरिएको थियो। त्यसका लागि प्रस्तावसमेत तयार परिएको थियो। पर्यटन मन्त्रालयका तत्कालीन प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरी दुई दिन बिदा दिने प्रस्ताव तयार पारिएको थियो।

आन्तरिक पर्यटक बढाउने उद्देश्यबाट उक्त प्रस्ताव तयार पारिएको थियो। दुई दिन बिदा दिएमा राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, लैङ्गिक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन हुने जस्ता तर्क गरिएको थियो तर सामान्य प्रशासन मन्त्रालयबाटै विरोध भएपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएन।

कर्मचारीले कति पाउँछन् बिदा ?

सार्वजनिक बिदाबाहेक सरकारी कर्मचारीले अन्य बिदा पनि पाउँछन्। उनीहरूले वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भइपरी तथा पर्व बिदा पाउँछन्।

यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा र थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाउँछन्। महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उनका पतिलाई समेत १५ दिन सुत्केरी बिदा सुविधा हुन्छ।

आधा जसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन्। पूर्वनिर्धारित सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा दिन्छ।