सरकारले गत चैतमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक सेवा प्रदान गर्ने देशभरका सरकारी अस्पतालले आइतबार सेवा बन्द गरेका छन्।
आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा समेत दुई दिन सेवा बन्द भएको छ। देशैभरिबाट रेफरल बिरामी आउने वीर अस्पताल, टिचिङ, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायत सवैमा सेवा बन्द छ।
उता निजी अस्पतालले भने आइतबार सेवा सुचारु राखेका छन्। दैनिक धेरै बिरामी आउने धुलिखेल अस्पताल, ह्याम्स,मेडिसिटी, नर्भिक, बि एण्ड बी लगायत सबैजसो निजी अस्पतालले भने सेवा सुचारु गरेका छन्।
धुलिखेल अस्पतालको सेवा शुल्क सरकारीकै हाराहारीमा छ। सरकारको घोषणापछि यसअघिका दुई आइतबार अस्पतालले सेवा बन्द गरेको थियो। बिरामीलाई मर्का पर्नेदेखि तत्कालै अस्पतालले निर्णय गरी आइतबार सेवा सञ्चालन गरेको थियो।
त्यसैगरी पाटन अस्पतालले लगातार दुई दिन बिदा गर्दा बिरामीलाई मर्का पर्ने आङ्कलन गरी पहिलादेखि नै शनिबार र बुधबार सार्वजनिक बिदा दिने गरेको छ।
साताको दुई दिन सार्वजनिक बिदा दिएपछि अस्पताल र बिरामीलाई भने मर्का परेको पाइएको छ। टिचिङ, सिभिल र वीर जस्ता ठूला अस्पतालहरूमा सोमवारको दिन बिरामीको चर्को चाप अत्यधिक बढेको छ भने बिरामीले लामो लाइन पारेर गरेर उपचार सेवा लिनु परेको अस्पतालहरूले जनाएका छन्।
आइतबार बिदा लागु पूर्व वीर अस्पतालमा दैनिक औसत २८ सय जना बिरामी आउँथे भने दुई दिन बिदापछि सोमवारको बहिरङ्ग विभागमा ४३ सय जना आउने गरेको अस्पताल स्रोतले जनाएको छ।
भीड भएपछि बिरामीले अस्पतालसँग गुनासो गरेको पाइएको छ। अर्कोतिर अस्पतालको आकस्मिक कक्षमा पनि भीड बढेको छ।
टिचिङ आइतबार सेवा खुल्दा .२५ सय जना बहिरङ्ग सेवा लिन आउने गर्थे भने सातामा दुई दिन बिदापछि सोमवार ३५ सय जना आउने गरेका छन्।
यो क्रम मंगलबार र बुधबारसम्म जारी रहने गरेको अस्पतालका निर्देशक डा. सुभाष आचार्यले जानकारी दिए। नियमित आउने बिरामीलाई बिचमा बिदा हुने बित्तिकै बिरामीको चाप बढेर आकस्मिक कक्षतिर पुगेको अस्पतालका कर्मचारी बताउँछन्। आकस्मिक कक्षमा पनि ठाउँ नपाएपछि निजी अस्पतालतिर जाने गर्छन्।
सरकारले इन्धनको समस्या देखाउँदै सबै सरकारी निकायमा साताको दुई दिन सार्वजनिक बिदा राजपत्रमै लेखेर घोषणा गरेपछि लागु गर्न बाध्य भएको अस्पतालहरूले जनाएका छन्।
बिचमा अस्पतालमा समस्या देखेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई बिरामीलाई मर्का नपर्ने गरी सेवा दिन सूचना जारी गरेको थियो।
राजपत्रमा जारी गरेको सूचनालाई मन्त्रालयको प्रशासन शाखाको सूचनाको भरमा परिवर्तन गर्न व्यवहारिक कठिनाइ भएपछि दुई दिन नै सेवा बन्द गर्न बाध्य भएको टिचिङ अस्पतालका निर्देशक डा. आचार्य बताउँछन्।
‘सरकारले राज पत्रमा घोषणा गर्नु अघि नै सोचेर निर्णय गरेको हुनुपर्छ, सानो सूचनाको भरमा दुई हजार कर्मचारीलाई सट्टामा काम लगाउने स्थिति रहेन’ उनले भने।
पुरै अस्पतालमा सट्टा बिदा लागु गर्न उसै अप्ठेरो बिदाको दिन काम गरेको थप रकम तिर्ने व्यवस्था नभएकोले पनि आइतबार सेवा दिन नसकेको उनको भनाइ छ। मन्त्रालयले आइतबार सेवा दिन पुन सूचना जारी गरेपछि नेपाल चिकित्सक संघले देशभर आन्दोलन गरी विभिन्न माग राखेको थियो।
सरकारले स्वास्थ्य सेवा जस्तो संवेदनशील ठाउँमा दुई दिन बिदा गर्नु आफैमा गलत कदम भएको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्।
अस्पतालमा आउने बिरामीको लागि बहिरङ्ग सेवा बन्द हुनु भनेको अन्तरङ्ग सेवा, अप्रेसन, अन्य परीक्षण समेत प्रभावित हुने भएकोले नागरिकको स्वास्थ्य अधिकार खुम्चिएको बताए।
पन्तको विचारमा यसको सट्टा पाटन अस्पतालमा जस्तो दिनहरू पारेर बिचमा दुई दिन बिदा दिन सकिन्थ्यो। उनले भने, ‘स्वास्थ्य सेवा भनेको अत्यावश्यक सेवा हो, यसको सूचक भनेको कहिल्यै बन्द हुनु हुँदैन भन्ने हो’ उनले भने।
आकस्मिक कक्षको सेवाले मात्र बिरामीको सबै पक्षको मर्मलाई सम्बोधन गर्न नसक्ने उनी बताउँछन्। ‘सेवाग्राहीको स्वास्थ्य हकको दृष्टिकोणबाट गलत भयो’ बिदा हुँदा भर्ना भएका बिरामी पनि मर्कामा पर्छन्’ उनले भने।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले सरकारले थोरै जुक्ति अपनाएर स्वास्थ्य सेवा सातामा ६ दिन नै दिन सक्नेमा उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाए।
सरकारी अस्पतालको हकमा सट्टामा काम गर्ने कर्मचारीको हकमा थप काम बापत भुक्तानीको व्यवस्था गर्नु पर्थ्यो अर्कोतिर सबै कर्मचारी बिदाको दिन काम गर्न तयार नभएका हुन्।
‘सरकारले आइतबार काम गराएर शुल्क तोकेर थप काम गर्नेलाई मुख्य अस्तपालहरुमा व्यवस्थापन गर्न सक्थ्यो, तर गर्न सकेन’ उनले भने।
साताको दुई दिन सरकारी अस्पतालमा बिदा हुँदा दुर्गमबाट आउने बिरामी मर्कामा पर्ने विज्ञहरू बताउँछन्। एकातिर लामो बसाइँले आर्थिक भार पर्छ भने त्यही बिरामी निजीमा जानु पर्यो भने उसलाई पर्ने आर्थिक भार थेगिन नसक्नु हुने डा. वन्त बताउँछन्।


प्रतिक्रिया