१५ शय्याको नगर अस्पतालबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको कटारी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ।

अस्पतालले सेवा विस्तारकै क्रममा आगामी वैशाख १५ गतेदेखि आफ्नै फार्मेसी समेत सञ्चालन गर्ने तयारी थालेको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव शाहका अनुसार हाल अस्पतालमा दैनिक ५ सय जनासम्म सेवाग्राहीले उपचार सेवा लिइरहेका छन्।

शल्यक्रिया सेवा सुरु भएको दुई महिनाको अवधिमा १० वटा एपेन्डिसाइटिस, ७ वटा हर्निया, २ वटा पाइल्स, २ वटा फिस्टुला र ३ वटा स्तनको गाँठोसहित विभिन्न साना-ठूला शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

‘प्रादेशिक अस्पतालमा स्तरोन्नति भएसँगै हामीले विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणको व्यवस्था गरी सेवालाई प्रभावकारी बनाएका छौं,’ मेसु डा. शाहले भने, ‘अहिले अस्पतालमा एपेन्डिसाइटिसदेखि हाइड्रोसिल र अन्य सामान्य शल्यक्रियाहरू नियमित रूपमा भइरहेका छन्।’

शल्यक्रियाका लागि डा. केशरी साह र एनेस्थेसियोलोजिस्ट डा. सुरेश साहको टोली परिचालन गरिएको छ।

बिरामीले बजारका निजी मेडिकलमा महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न अस्पतालले वैशाख १५ देखि २४सै घण्टा खुल्ने गरी आफ्नै फार्मेसी सञ्चालन गर्न लागेको हो।

यसका लागि अस्पतालले इच्छुक औषधि व्यवसायीहरूसँग आवेदन माग गरिसकेको छ। फार्मेसी सञ्चालकले बजारको तुलनामा सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउनुपर्ने सर्त राखिएको छ।

अस्पतालले हाल २७८ प्रकारका औषधि वितरण गर्दै आएकोमा अब त्यसलाई बढाएर ६०० पुर्‍याउने लक्ष्य राखेको छ। साथै, सबैले देख्ने गरी औषधिको मूल्यसूची होर्डिङ बोर्डमा राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरिएको छ।

यसअघि सामान्य उपचारका लागि पनि मिर्चैया, धरान वा विराटनगर धाउनुपर्ने कटारी क्षेत्रका बासिन्दालाई स्थानीयस्तरमै विशेषज्ञ सेवा सुरु भएपछि ठूलो राहत मिलेको छ।