काठमाडौं , २५ चैत २०८२ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले कूटनीतिक भेटघाटमा नयाँ र पारदर्शी शैली अपनाउँदै आज एकैसाथ २० देशका राजदूतहरूसँग सामूहिक छलफल गर्दै हुनुहुन्छ। पद सम्हालेको १० औँ दिनमा प्रधानमन्त्री बालेनले नेपालस्थित विभिन्न देशका राजदूतहरूलाई एकैसाथ भेट्ने कार्यक्रम तय गरेर कूटनीतिमा नयाँ अभ्यासको सुरुवात गर्नुभएको हो। परराष्ट्रमन्त्री शिशिर खनालको समेत उपस्थिति रहने यो सामूहिक भेटले वर्षौँदेखि चल्दै आएको पुरानो कूटनीतिक चलनलाई तोडेको छ।

​सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने परम्परा रहँदै आएको थियो। तर प्रधानमन्त्री बालेनले सुरुवातमै सबैलाई सँगै भेटेर कूटनीतिक संवादलाई थप पारदर्शी र व्यवस्थित बनाउन खोज्नुभएको छ। यो कदमले समयको बचत मात्र गरेको छैन, बरु सबै देशलाई समान व्यवहार गर्ने सरकारको स्पष्ट नीतिलाई पनि उजागर गरेको छ। कुनै एक देशलाई बढी र अर्कोलाई कम महत्त्व दिनुको सट्टा सबैलाई एकैसाथ भेट्नुले नेपालको कूटनीतिक सम्बन्धलाई थप सन्तुलित र मर्यादित बनाएको देखिन्छ।

​व्यक्तिगत र गोप्य भेटघाटभन्दा सामूहिक र पारदर्शी छलफललाई जोड दिएर प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा नयाँ उदाहरण पेस गर्नुभएको छ। आफ्नो देशको मान-सम्मानलाई ध्यानमा राखेर चालिएको यो कदमले बालेन नेतृत्वको सरकार पुरानो तरिकाले होइन, बरु नयाँ र स्पष्ट सोचका साथ अगाडि बढ्न खोजेको सन्देश दिएको छ। यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको परराष्ट्र नीति र कार्यशैलीमा आएको परिवर्तनलाई समेत प्रस्ट पारेको छ।