काठमाडौं चैत २५ गते २०८२ आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मुलुकको पूर्वाधार विकास, प्रशासनिक नियुक्ति र वर्तमान इन्धन संकट समाधानका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले विशेष गरी बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि विश्व बैंकबाट प्राप्त हुने ८ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। यो वैदेशिक सहायताले बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्रको पर्यटकीय तथा ऐतिहासिक पूर्वाधार निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

​प्रशासनिक तर्फ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा अर्थशास्त्री डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। अर्थतन्त्रका विभिन्न आयाममा दख्खल राख्ने डा. भट्टको नियुक्तिले मुलुकको आगामी योजना तर्जुमा र आर्थिक नीति निर्माणमा थप उचाइ दिने अपेक्षा गरिएको छ।

​यसैगरी, पछिल्लो समय आकाशिएको इन्धनको मूल्यबाट सर्वसाधारणलाई राहत दिन सरकारले विशेष आर्थिक कदम चालेको छ। मन्त्रिपरिषद्ले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। यो कर कटौतीसँगै उपभोक्ताका लागि पेट्रोलियम पदार्थको मूल्य केही सहज हुने देखिएको छ।

​अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय समेत गरेको छ। इन्धनको अत्यधिक खपत घटाउन र विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले सर्वसाधारणलाई सम्भव भएसम्म घरबाटै काम गर्ने ‘वर्क फ्रम् होम’ शैली अपनाउन र विद्युतीय सवारी साधन तथा विद्युतीय उपकरणको प्रयोग बढाउन विशेष आग्रह गरेको छ।