काठमाडौँ चैत २२ गते । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई न्यूनीकरण गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
बिदाको नयाँ व्यवस्थासँगै सरकारले कार्यालय समयमा समेत परिमार्जन गरेको छ। शैक्षिक संस्था बाहेकका अन्य सरकारी कार्यालयहरूको समय अब बिहान ०९:०० बजेदेखि बेलुका १७:०० बजेसम्म कायम रहनेछ। पेट्रोलियम आपूर्तिको असहज अवस्थालाई ध्यानमा राख्दै इन्धन खपत घटाउने उद्देश्यले सरकारले यो कदम चालेको हो।
बैठकले देशको डिजिटल र वित्तीय क्षेत्रको विकासका लागि ठुलो वैदेशिक सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत गरेको छ। डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि एसियाली विकास बैंकको ४० मिलियन र विश्व बैंकको ५० मिलियन गरी कुल ९० मिलियन अमेरिकी डलर ऋण स्वीकार गरिने भएको छ। त्यसैगरी, विधिको र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि सरकारले लिने निर्णय गरेको छ।
शिक्षा क्षेत्रतर्फ मन्त्रिपरिषद्ले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यस्तै, वातावरण संरक्षण र इन्धनको परनिर्भरता कम गर्न डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने महत्वपूर्ण निर्णय पनि आजको बैठकले गरेको छ।
प्रशासनिक सुधारका सन्दर्भमा सरकारले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिएको छ। यसैगरी, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफ्नो पदबाट दिनुभएको राजीनामा पनि आजकै बैठकले स्वीकृत गरेको छ।

प्रतिक्रिया