मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट-प्लेस सञ्चालनमा ल्याइएको छ।

डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनमा आवश्यक सेवाहरूलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले डेली सेवा प्रालिले ‘डेली सेवा’ मार्केट-प्लेस सञ्चालनमा ल्याएको हो। डेली सेवाले नेपालको आफ्नै स्मार्ट बजारका रूपमा आफूलाई विकास गरेको जनाएको छ। यस प्लेटफर्ममार्फत घरायसी एवं व्यावसायिक प्रकृतिका विभिन्न सेवाहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

कुनै पनि दक्ष नेपाली नागरिक डेली सेवा मोबाइल एप वा वेबसाइटमार्फत जोडिएर सेवाग्राहीको प्रतीक्षा गर्न सक्छन् भने कुनै पनि मानिसले कुनै पनि ठाउँबाट आफूलाई चाहिएको सेवा लिन सक्छन्। त्यसका लागि आफ्नो व्यवसायको विवरण भरेर डेली सेवामा जोडिनुपर्ने हुन्छ।

डेली सेवाको वेबसाइट र मोबाइल एप नेपाली बजारको आवश्यकता र सेवा क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राखेर नेपालमै विकास गरिएको छ। प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवाप्रदायकबिच छिटो, सहज र व्यवस्थित सम्बन्ध स्थापित गर्ने उद्देश्य कम्पनीले लिएको छ।

डेली सेवामार्फत घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण सेवा, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा टेक्निकल सपोर्ट, अन-कल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङ सेवालगायत विभिन्न क्षेत्रका सेवा उपलब्ध हुनेछन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश न्यौपानेले एउटै डिजिटल प्लेटफर्मबाट दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकताका सेवाहरू जोड्ने मार्केट प्लेसका रुपमा डेली सेवालाई विकास गरिएको बताए। ‘कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरै बसी-बसी लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘डेली सेवा एपमा हाल १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध गराइएका छन्।’

डेली सेवाले सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउनुका साथै विभिन्न सीप विकासका क्षेत्रहरूमार्फत दक्ष, अर्धदक्ष तथा अदक्ष सबै किसिमका जनशक्तिलाई रोजगारी तथा व्यवसाय विस्तारको अवसर प्रदान गर्ने लक्ष्य पनि राखेको सिइओ न्यौपानेले बताए। प्लेटफर्ममा आबद्ध हुने सेवाप्रदायकलाई डिजिटल माध्यमबाट सेवा प्रवर्धन गर्ने तथा थप सेवाग्राहीसम्म पुग्ने अवसर उपलब्ध हुने विश्वास उनको छ।

कम्पनीले सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको छ। जसअनुसार सेवा प्राप्त गरेपछि मूल्यांकन गर्न सक्ने प्रणालीसमेत विकास गरिएको छ।

नेपालमा डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित व्यवसायको विस्तारसँगै अनलाइनमार्फत सेवा खोज्ने प्रवृत्ति बढिरहेको छ। यही परिवर्तित प्रवृत्तिलाई लक्षित गर्दै डेली सेवाले नेपाली प्रविधि र जनशक्तिमा आधारित सेवा सुरु गरेको हो।

अहिले यो सेवा काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ। ‘नेपालकै आफ्नै डिजिटल मार्केट प्लेस’ भन्ने अवधारणासहित अघि बढेको डेली सेवाले भविष्यमा देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। डेली सेवाले वेबसाइट र प्लेस्टोर वा एपस्टोरमा एप डाउनलोड थप सेवा लिन सक्ने जानकारी दिएको छ।