दसैंको मुखमा धान भित्र्याउने तयारीमा रहेका बागलुङको गलकोट नगरपालिकाका किसान दरमखोलामा आएको बाढीले खेत बगाएपछि चिन्तामा छन्।
बाढीले सयौं रोपनी उब्जाउ भूमि बगरमा परिणत गरेपछि नगरपालिकाले पीडित किसानलाई राहत दिने घोषणा गरेको छ।
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बाढीबाट धानखेत गुमाएका किसानलाई प्रतिरोपनी चार हजार रुपैयाँका दरले राहत दिइने जानकारी दिए।
‘हामीले किसानलाई चार हजारदेखि बढीमा १६ हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने निर्णय गरेका छौं,’ नगरप्रमुख गैरेले भने, ‘तत्कालका लागि राहत व्यवस्था गरेका छौं, क्षतिको यकिन विवरण संकलन गरी पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउँछौं।’ उनका अनुसार वडा नं ३, ५, ६, ८ र ९ मा बाढीले खेत कटान गरेको छ।
बाढीको मारमा सर्वसाधारण मात्र होइन, स्थानीय जनप्रतिनिधि नै परेका छन्। गलकोट–९ का वडाध्यक्ष तेजबहादुर थापाले बाह्रमुरीमा रहेको आफ्नो १० मुरी धान फल्ने खेतमा अहिले खोला हिँडिरहेको बताए।
‘यस वडाका धेरै किसानको मुख्य उब्जाउ क्षेत्र बाढीले बगाएको छ,’ वडाध्यक्ष थापाले भने। उनका अनुसार वडाका टिमुरबोट, ब्राहमुरी, झेतुङ र सयमुरीमा गरी १३५ परिवार बाढीबाट प्रभावित भएका छन्।
पाकेर पहेँलो भएको धानसहित खेत नै खोलामा मिसिएपछि किसानहरू प्रकृतिसँग हार खाएका छन्। गलकोट-९, फापरखेतका पुरुषोत्तम गौतमले झेतुङमा रहेको आफ्नो १८ मुरी धान फल्ने खेतको नामोनिसान नरहेको दुखेसो पोखे।
‘खेतकै उब्जनीले घरपरिवार धानिन्थ्यो, यसपालि प्रकृतिले हामीलाई ठग्यो,’ उनले भने। सोही ठाउँका टेकराज शर्माको पनि १२ मुरी धान फल्ने चार रोपनी खेत खोलाले काटेको छ।
गलकोट-३ मा पनि करिब २० रोपनी खेतमा क्षति पुगेको वडाध्यक्ष फम खत्रीले जानकारी दिए। मानवीय क्षति नभए पनि व्यक्ति र सार्वजनिक सम्पत्तिमा ठूलो नोक्सानी पुगेको उनले बताए।
नगरप्रमुख गैरेका अनुसार प्रारम्भिक विवरणमा नगर क्षेत्रभित्र २२ घरगोठ, रिसोर्ट, कृषि फार्म र पशुपालन व्यवसायमा ठूलो क्षति पुगेको छ। प्रभावितहरूको राहत र क्षतिपूर्तिका लागि निरन्तर पहल भइरहेको बताए।
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछिको बाढीपहिरोले गलकोटसहित बागलुङका अधिकांश स्थानीय तह प्रभावित छन्। विपद्मा परी जिल्लाभर १३ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया