पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबीच पर्यटक आदानप्रदान र प्रवर्द्धनका लागि औपचारिक सम्झौता (एमओयु) गर्ने तयारी भएको छ।
देशका केही भागमा बाढीपहिरो गएपनि पोखरा पूर्ण रूपमा सुरक्षित र खुला रहेको सन्देश दिँदै पोखरेली व्यवसायीले भारतीय टुर्स अपरेटरहरूसँग हवाई सञ्जाल विस्तार र सहकार्यको प्रस्ताव गरेका हुन्।
गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेको पहलमा शुक्रबार पोखरामा नर्थ इस्ट इन्डियन टुरिस्ट कन्फिड्रेसन (एनईआईटीसी) का २४ जना प्रतिनिधिसँग सामूहिक छलफल भएको हो।
सो अवसरमा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले रसुवा लगायत सीमित स्थानमा मात्र बाढीपहिरोको समस्या रहपनि पोखरा भने पर्यटकका लागि सुरक्षित रहेको बताए।
उनले नेपाल-भारतबीचको ऐतिहासिक ‘रोटीबेटी’ को सम्बन्धलाई पर्यटनमार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दुवै क्षेत्रको भूगोल, संस्कृति र शक्तिपीठहरुमा समानता रहेको बताउँदै समझदारी पत्र (एमओयु) नै गरेर अघि बढ्न प्रस्ताव गरे।
पोखराबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान गरिरहेको सन्दर्भ जोड्दै उनले उत्तरपूर्वी भारतका सहरलाई पनि पोखरासँग सिधा हवाई सञ्जालमा जोड्न भारतीय पक्षलाई पहल गर्न आग्रह गरे।
छलफलमा भारतको उत्तराखण्ड, अरुणाञ्चल, सिक्किम, आसाम, गुहावटी, दार्जिलिङ र मणिपुरबाट आएका टुर्स अपरेटरहरु सहभागी थिए।
एनईआईटीसीका अध्यक्ष छिरिङ वाङ्गेले पोखराको प्राकृतिक सौन्दर्य र आतिथ्यताको प्रशंसा गर्दै सहकार्यका लागि आफूहरु इच्छुक रहेको बताए। उनले दुवैतर्फबाट पर्यटकको आवागमन बढाउन भारतीय व्यवसायी तयार रहेको प्रतिबद्धता जनाए।
पाँच पटक सगरमाथा आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी भारतीय आरोही डा. अंशु जेम्सेन्पाले पोखरा उत्कृष्ट गन्तव्य रहेको बताइन्।
पोखराको न्यानो आतिथ्यताको प्रशंसा गर्दै उनले भनिन्, ‘हस्पिटालिटी त पोखरासँग सिक्नुपर्ने रहेछ, साँच्चिकै गज्जब लाग्यो।’
नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश अध्यक्ष संगीता पौडेलले पर्यटनको राजधानी पोखरामा सहकार्य गरेर दुवै पक्षले व्यावसायिक लाभ लिन सक्ने भन्दै सँगै मिलेर काम गर्न भारतीय प्रतिनिधिलाई आह्वान गरिन्।
कार्यक्रममा कीर्तिमानी आरोही डा. अंशुलाई पोखरेली पर्यटन व्यवसायीका तर्फबाट विशेष सम्मान गरिएको थियो।
सहभागी अन्य टुर्स अपरेटरहरुलाई मायाको चिनो प्रदान गरिएको होटल संघ पोखराका कोषाध्यक्ष रमेश पौडेलले जानकारी दिए।

प्रतिक्रिया