काठमाडौं महानगरपालिका-२६ स्थित ठमेलमा पर्यटक तथा सर्वसाधारणलाई दुःख दिने तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उनीहरूमाथि लागूऔषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गरेको आरोप छ। रात्रिकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गरेको आरोप पनि छ।
मुद्दा दर्ता हुनेमा कास्कीका २० वर्षीय लक्की गुरुङ, गोरखाका २३ वर्षीय प्रबिन तामाङ र सिन्धुलीका २९ वर्षीय सनिस भुजेल छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रवक्ता दान बहादुर थापाका अनुसार ‘सुरक्षित ठमेल, ‘जाने होइन’?’ अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बिहीबार बिहान ३ बजेसम्म प्रहरीले ठमेलबाट ३१ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा तीन जनाको संलग्नता देखिएपछि उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई तीन दिनको म्याद थप गरेको छ।


प्रतिक्रिया