सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रशान्त उप्रेतीले राजनीतिक नेतृत्वमा जोखिम लिने क्षमता अभाव र प्रशासनिक हठका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थला परेको बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमलाई तत्काल कम्पनी ऐनअन्तर्गत लैजान र स्वायत्त बनाउन सरकारसँग आग्रह गरेका हुन्। निगमलाई अस्पष्ट अवस्थामा राखेर राष्ट्रिय गौरव फर्काउन नसकिने उनको भनाइ छ।
उप्रेतीले निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने वा यसको ढाँचा नै परिवर्तन गर्नुपर्ने बताएका छन्। उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग हुन नसक्नु, जहाज ग्राउन्डेड हुनु र व्यवस्थापकीय अक्षमताका कारण निगम थलिएको उनले बताए।
‘नेपाल वायुसेवा निगमको औचित्य स्पष्ट हुनुपर्छ। राष्ट्रिय ध्वजावाहक भएकाले भावनात्मक पक्ष महत्त्वपूर्ण भए पनि यो अन्ततः व्यावसायिक संस्था भएकाले व्यावसायिक रूपमै सञ्चालन हुनुपर्छ,’ उनले भने।
निगममा राजनीतिक हस्तक्षेप अन्त्य गरी स्वायत्त र सक्षम व्यवस्थापन आवश्यक रहेको बताउँदै उनले महाप्रबन्धक चयनमा योग्यता र क्षमतालाई मुख्य आधार बनाउनुपर्ने बताए।
आवश्यकता परे योग्य विदेशी महाप्रबन्धक ल्याउनसमेत पछि हट्न नहुने उनको धारणा थियो।

प्रतिक्रिया