कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका हकमा कानुन समान रूपमा लागू हुने बताएकी छन्।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस बिन अजमानसँगको भेटमा उनले यस्तो बताएकी हुन्। मन्त्री गौतमले बाढीमा बेपत्ता भएका व्यक्तिको मृत्युको अनुमानसम्बन्धी घोषणा तथा मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सहज बनाउन कानुन संशोधनको काम अघि बढिरहेको जानकारी दिइन्।

भेटमा राजदूत अजमानले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले सञ्चालन गरेको खोज तथा उद्धार कार्यको प्रशंसा गरेका छन्। बाढीपछि बेपत्ता ५४ मलेसियाली नागरिकका परिवारले भोग्नुपरेका कानुनी तथा व्यावहारिक कठिनाइ र विपद् प्रतिकार्यमा नेपाल-मलेसिया सहकार्यका विषयमा पनि छलफल भएको थियो।

भेटमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिको पनि उपस्थिति थियो।