काठमाडौंमा विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विभिन्न कम्पनीका २५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईं र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल चन्द्रागिरि बस्ने १९ वर्षीय विवेककुमार शर्मा रहेका छन्।

काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा असोज १६ गते न्युरोडबाट हुमागाईंलाई चोरीको एउटा मोबाइलसहित पक्राउ गरेको थियो।

हुमागाईंसँग सोधपुछ गर्दा थप चोरीका मोबाइल उनका साथी शर्मासँग रहेको खुलेपछि प्रहरीले खोजतलास थालेको थियो। सोही क्रममा शर्मालाई चन्द्रागिरिको सतुङ्गलबाट विभिन्न कम्पनीका २४ थान मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।