मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा गत आइतबार बिहान हिमपहिरो जाँँदा बेपत्ता भएकामध्ये अहिलेसम्म १५ जनाको शव फेला परेको छ। हिमपहिरोमा परेर अझै एकजना बेपत्ता भएको प्रहरीको भनाई छ।

नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल आरोहण लागि आएका विदेशीका लागि अग्रिम तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिमपहिरोमा परेको थियो। असोज २ गते काठमाडौंबाट गएको हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरि २७ जना नेपाली सहयोगी हिमलुङ क्षेत्रमा बेसक्याम्प स्थापना गर्न गएका थिए।

हिमपहिरोमा परेका उनीहरु सम्र्पकविहीन भएका थिए। हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल थिए। हिमपहिरोमा हराए १६ जना सम्पर्कविहीन भएकोमा खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको प्रहरीको भनाई छ। प्रहरीका अनुसार वेपत्ता रहेका एकजना ओखलढुंगा घर भएका वर्ष ३८ का पासाङ नुरी शेर्पा हुन।

प्रहरीका अनुसार शव फेला पर्नेमा संखुवासभाका छेवि भोटे र पासाङ भोटे रहेका छन। त्यस्तै गोरखा, धार्चेका विरेन्द्र गुरुङ, खोटाङका घनश्याम राई र लककुमार गुरुङ रहेका छन्। रुकुम पूर्वका कलम बुढा, खोटाङका सुरज राई, काभ्रेपलाञ्चोकका बिर्खध्वज तामाङ, काभ्रेपलाञ्चोकका जगत तामाङ रहेका छन्।

त्यस्तै ठेगाना नखुलेका ङिमा दोर्जे तामाङ, सन्तवीर तामाङको पनि शव फेला परेको छ। सिन्धुपाल्चोकका उर्खध्वज बोहोरा, ओखलढुंगाका प्रेम तामाङ, गोरखाका आश गुरुङ र दोलखाका कृतिबहादुर तामाङको पनि शव फेला परेको छ। बेपत्ता रहेका पासाङ नुरी शेर्पाको खोजी कार्य भईरहेको पनि प्रहरीको भनाई छ।