रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ स्थित भुनेश्वरनाथ सामुदायिक प्राथमिक विद्यालयको बैंक खाताबाट विद्यालयसँग सरोकार नै नभएका व्यक्तिको नाममा चेक काटेर रकम निकासा गरेको पाइएको छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमाणसहित लिखित उजुरी गरेका छन्।

विद्यालयसँग सरोकार नभएका स्थानीय गंगाराम साह, मायानन्द साह, बन्हु साह, विश्वनाथ साह र परमानन्द साहले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विद्यालयको बैंक कारोबारको विस्तृत छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

विद्यालयका तत्कालीन प्रधानाध्यापक बिणा देवी जयसवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार चौधरीको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुँदै आएको लक्ष्मी सनराइज बैंक, गंगापिपरा शाखामा खोलिएको विद्यालयको चल्ती खाताबाट विभिन्न मितिमा असम्बन्धित व्यक्तिका नाममा चेक काटी रकम भुक्तानी गरिएको निवेदनमा उल्लेख छ।

उजुरीकर्ताहरूले बैंक स्टेटमेन्टलाई प्रमाणका रूपमा पेस गर्दै विद्यालयको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिका नाममा रकम भुक्तानी भएको उल्लेख गरेका हुन्।

विद्यालयको रकम कुन प्रयोजनका लागि निकासा गरियो र कहाँ खर्च भयो भन्ने विषयमा छानबिनको विषय बनेको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद पौडेलसमक्ष लिखित उजुरीमार्फत माग गरेका छन्।

उजुरीमा तत्कालीन प्रधानाध्यापक जयसवालको सरुवा भएर अर्को विद्यालयमा रवाना लिएर गए पनि विद्यालयको बैंक खाताबाट चेक काटी रकम निकासा गरिएको स्थानीयले जिप्रकामा दिएको उजुरीमा उल्लेख छ।

बैंक स्टेटमेन्टमा २०८३ जेठ २० गतेसम्म विभिन्न व्यक्तिका नाममा चेक काटेर रकम साटेको विवरण देखिएको उजुरीकर्ताहरूको भनाइ छ।

यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन्। उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित एमाले, कांग्रेसलगायतका दलका उम्मेदवारलाई हराएर निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन्।

चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कायम रहेको विषयलाई समेत उजुरीकर्ताहरूले प्रश्न उठाएका छन्। सांसद निर्वाचित भएपछि पनि समितिको अध्यक्षकै हैसियतमा विद्यालयको बैंक खाताबाट रकम निकासा भएको देखिनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ।

‘दैनिक २०-२५ विद्यार्थी, हाजिरीमा २०० सम्म देखाइयो’

विद्यालयमा वास्तविक रूपमा दैनिक २० देखि २५ जना विद्यार्थी मात्र उपस्थित हुने गरेको भए पनि २०० जनासम्मको हाजिरी देखाएर दिवा खाजा रकममा अनियमितता गरिएको आरोपसमेत स्थानीयवासीले लगाएका छन्।

विद्यालयमा भएको अनियमिततामा गाउँपालिकादेखि विद्यालयका तत्कालीन प्रधानाध्यापकसम्मको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले लिखित उजुरी गर्दै छानबिनको माग गरेका छन्।

एउटै व्यक्ति लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहनु तथा जनप्रतिनिधि निर्वाचित भएपछि पनि सोही पदमा कायम रहनुको कानुनी अवस्थामाथि समेत स्थानीयले प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा सदस्य चौधरी विगतमा प्रदेशसभा निर्वाचनमा दुई पटक पराजित भए पनि व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी छैन। अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षकै रूपमा कायम रहनु र विद्यालयको आर्थिक कारोबारबारे प्रश्न उठ्दा सम्बन्धित निकायमा उजुरीकर्ताहरूले बैंक कारोबारको विस्तृत विवरण परीक्षण गर्न, सम्बन्धित व्यक्तिहरूलाई झिकाएर बयान लिन तथा छानबिनका क्रममा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

तत्कालीन प्रधानाध्यापकको स्पष्टीकरण : ‘बिल नभएकाले व्यक्तिको नाममा चेक काटियो’

तत्कालीन प्रधानाध्यापक बिणा देवी जयसवालले विद्यालयको नियमित खर्च व्यवस्थापनका क्रममा व्यक्तिको नाममा चेक काटिएको हुन सक्ने प्रतिक्रिया दिइन्।

विद्यालयमा दिवा खाजा व्यवस्थापनका लागि चामल, तरकारी, दूध, चिनी र ग्यासलगायत सामग्री आवश्यक पर्ने र ती सामग्री खरिदका लागि वर्षमा एक पटक रकम आउने गरेको उनको कथन छ। तर दैनिक रूपमा आवश्यक पर्ने सामग्री खरिद गर्नुपर्ने भएकाले कतिपय अवस्थामा सामग्री उपलब्ध गराउने फर्मको बिल नभएका कारण व्यक्तिगत नाममा चेक काटेर भुक्तानी गरिएको प्रअ जयसवालको दाबी छ।

‘सामान खरिद गरेका फर्मको बिल नहुँदा व्यक्तिगत नाममै चेक काटिएको हो,’ जयसवालले भनिन्।

जेठ महिनामा चेक काटिएको विषयमा भने उनले विगत पाँच वर्षको लेखापरीक्षण (अडिट) गरेबापत १ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिएको बताइन्।

‘मेरो र माननीयजीको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन हुन्थ्यो। अहिले म सरुवा भएर अर्को विद्यालयमा शिक्षकका रूपमा कार्यरत छु,’ उनले भनिन्।

अध्यक्ष चौधरीको दाबी : ‘विद्यालयमा रकम नै छैन, आरोपमा सत्यता छैन’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीले भने आफूविरुद्ध लगाइएको आर्थिक अनियमितताको आरोप अस्वीकार गरेका छन्।

उनका अनुसार स्थानीय बासिन्दाको चाहना र आग्रहका कारण आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा रहँदै आएको प्रतिक्रिया दिए।

‘स्थानीय बासिन्दाहरूको चाहना र इच्छालाई नकार्न सकिएन, त्यसैको फलस्वरूप व्यवस्थापन समितिको अध्यक्षमा रहिरहेको हुँ,’ चौधरीले भने।

विद्यालयमा अनियमितता गर्न सकिने गरी ठूलो रकम नै नरहेको दाबी गर्दै उनले आफूविरुद्ध लगाइएका आरोप विपक्षीहरूको अनावश्यक आरोप मात्र भएको बताए।

उनका अनुसार दिवा खाजाका लागि विद्यालयमा रकम आउने र त्यसबाट वर्षभरि दैनिक खाजा व्यवस्थापन गरिएपछि वर्षमा एकपटक भुक्तानी गर्ने गरिएको छ।

‘दिवा खाजाको नाममा रकम आउँछ। त्यसलाई दैनिक खाजाका रूपमा प्रयोग गरेबापत वर्षमा एकपटक भुक्तानी गर्ने हो। त्यसैलाई अनावश्यक रूपमा बखेडा बनाइएको हो,’ चौधरीले भने।

उजुरीमा उठाइएका विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक छानबिन अघि बढाएमा बैंक कारोबार, चेक भुक्तानी, दिवा खाजा खर्च तथा विद्यालय व्यवस्थापनसम्बन्धी निर्णयहरूबाट वास्तविक अवस्था थप स्पष्ट हुने देखिन्छ।