गण्डकी प्रदेशको राजधानी पोखरामा शवगृहको अभावका कारण विपद्का बेला शव व्यवस्थापनमा समस्या हुँदै आएपछि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले २८ वटा शव राख्न मिल्ने पोर्टेबल मर्चरी हाउस उपलब्ध गराएको छ।
केही दिनअघि भोटेकोशी बाढीमा मृत्यु भएका १०२ जनाको शव पोखरा ल्याइएपछि अस्पतालमा रहेका शवगृहको क्षमता अपुग हुँदा व्यवस्थापनमा समस्या भएको थियो। पोखराका आठ अस्पतालमा गरी ८८ वटा शव राख्न सकिने क्षमता रहे पनि बाढीपछि थप शव आएपछि पोखरा–१६ जौबारीस्थित गाडतरामा समेत शव व्यवस्थापन गर्नुपरेको थियो।
जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७२ वटा शव राख्न सकिने क्षमता छ। त्यस्तै मणिपाल शिक्षण अस्पतालमा आठ तथा चरक, फिस्टेल, गण्डकी मेडिकल कलेज (जीएमसी) र फेवासिटी अस्पतालमा दुई–दुई वटा शव राख्न मिल्ने शवगृह छन्। सामान्य अवस्थामा पर्याप्त भए पनि विपद्का बेला ती शवगृहको क्षमता अपुग हुने गरेको उनले बताए।
भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा परेको समस्या देखेपछि महासंघ गण्डकीले उद्योगी तथा व्यवसायीको सहकार्यमा पोर्टेबल मर्चरी हाउस निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको हो।
महासंघका उपाध्यक्ष सूर्य भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले उपलब्ध गराएको कन्टेनरलाई परिमार्जन गरी २८ वटा शव राख्न मिल्ने गरी मर्चरी हाउस तयार गरिएको हो। यसलाई आवश्यकताअनुसार गण्डकी प्रदेशका जुनसुकै अस्पतालमा लैजान सकिने उनले बताए।
उपाध्यक्ष भुजेलका अनुसार पोखराका अस्पतालमा रहेका शवगृहमा सामान्यतः २ देखि ६ डिग्री सेल्सियससम्म तापक्रम कायम गर्न सकिने भए पनि नयाँ मर्चरीमा माइनस १७ डिग्री सेल्सियससम्म शव राख्न सकिन्छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक विभाग प्रमुख डा. मदन बरालले माइनस तापक्रममा शव राख्न सकिने भएकाले लामो समयसम्म राख्नुपर्ने तथा बेवारिसे शवका लागि मर्चरी उपयोगी हुने बताए। पोस्टमार्टम गर्नुपर्ने शव भने माइनस तापक्रममा राख्न नमिल्ने भएकाले पुरानै शवगृहमा राखिने उनले बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा परेको समस्याले पोखरामा वैकल्पिक शवगृहको आवश्यकता देखाएको बताए। भविष्यमा विपद्का बेला शव व्यवस्थापनमा समस्या नहोस् भनेर पोर्टेबल मर्चरी उपलब्ध गराइएको भन्दै उनले यसको प्रभावकारी उपयोग गर्न आग्रह गरे।

प्रतिक्रिया