‘छोरीलाई राम्रोसँग पढाउनु, कक्षामा प्रथम हुनू।’

गत भदौ १० गते बिहान जुम्लाको गुठीचौर गाउँपालिका–२ मुडुरीका ३० वर्षीय मुनीप्रसाद ऐडीले श्रीमती सीता ऐडीलाई फोनमा यति भनेपछि छोरी पुष्पासँग कुरा गरे। अघिल्लो दिनको परीक्षा कस्तो भयो भनेर सोधे र पढाइमा ध्यान दिन सम्झाए।

श्रीमतीलाई छोराछोरीको राम्रोसँग हेरचाह गर्न र बुढा आमाबुबाको ख्याल राख्न भने। अनि आश्वासन दिए, ‘असोज १६/१७ गते घर आउँला।’

अन्नपात र घाँस काट्ने समयसम्म घर फर्कने उनको योजना थियो। तर त्यो फोन नै परिवारसँगको अन्तिम संवाद बन्न पुग्यो।

‘राति ड्युटी गरेर भर्खरै आएको हुँ,’ उनले फोनमा भनेका थिए। कुराकानी भइरहेकै बेला अचानक उनको आवाज बदलियो, ‘बाढी आयो, भल आयो।’

सीताले सामान्य भल आएको होला भन्ने ठानिन् र ‘भाग, भाग’ भनिन्। त्यसपछि फोनमा दौडिएको र स्वाँस्वाँ गरेको आवाज सुनियो। बिहान करिब ११ बजेसम्म सम्पर्क भइरहेको फोन त्यसपछि लागेन। दिउँसो १२ बजेदेखि मोबाइल नै बन्द भयो।

सीताले फेरि सय रुपैयाँको रिचार्ज हालेर फोन गरिन्। तर अहिलेसम्म फोन लागेन।

मुनीप्रसाद गत माघ २९ गते घरबाट निस्किएका थिए। घर फर्कन नपाउँदै उनी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भए।

मुनीप्रसादकी आमा जसिकला ऐडीका आँखामा छोराको सम्झनासँगै पीडा छ। दुई वर्षअघि साउदी अरबमा गाडीले किचेर घाइते भएका मुनीप्रसाद जेनतेन उपचारपछि घर फर्किएका थिए। उनको दाहिने खुट्टामा अझै रड छ।

‘दुखिरहेको थियो मेरो छोरा,’ जसिकलाले रुँदै भनिन्।

मुनीप्रसाद घरबाट गएको झन्डै आठ महिना भएको थियो। उनका आठ वर्षीया जेठी छोरी, चार वर्षीय छोरा आशिष र नौ महिनाका छोरा समीर छन्। छ जनाको परिवार अहिले सहाराविहीन बनेको छ। बुढेसकालमा आमाबुबाको हेरचाह गर्ने र बालबालिकाको भविष्य हेर्ने जिम्मेवारी पनि अन्योलमा परेको छ।

‘नातिनातिनी कसरी पढाउने हो ? घरको अन्न दुई महिना पनि राम्रोसँग खान पुग्दैन,’ मुनीप्रसादका बुबा कालीबहादुर बुढाले भने।

दाजुको खोजीमा उनका भाइ भीमप्रसाद ऐडी रसुवा पुगे। धेरै ठाउँमा खोजे। तर दाजुको कुनै खबर पाएनन्। अन्ततः रित्तो हात घर फर्किए।

‘दसैंमा आउँछु’ भनेका डिल्लीको घरमा अझै प्रतीक्षा

मुडुरी गाउँकै ३६ वर्षीय डिल्ली बुढा पनि भदौ १० गतेदेखि सम्पर्कविहीन छन्।

बाढी आउनुअघि बिहान करिब ५ बजे उनले श्रीमती कालिका बुढालाई फोन गरेका थिए। करिब ७ बजेसम्म उनीहरूबीच सुखदुःखका कुरा भए। त्यसपछि डिल्लीको फोन सम्पर्कविहीन भयो।

डिल्ली गत चैत १७ गते घरबाट निस्किएका थिए। श्रीमती कालिकाका अनुसार उनी भाइ धन ऐडीसँगै रसुवा गएका थिए। त्यहाँबाट भारतसमेत पुगेका थिए।

डिल्लीले गत साउनमा ३० हजार र चैतमा १८ हजार रुपैयाँ घर पठाएका थिए। वैशाख, जेठ र असारको तलब आउन बाँकी रहेको उनले बताएका थिए। ‘दसैंमा आउँछु, खातामा ६० हजार रुपैयाँ छन्,’ उनले श्रीमतीलाई भनेका थिए। काम गर्ने स्थानको टिकटसमेत पठाएका थिए।

त्यही नै उनीहरूबीचको अन्तिम कुराकानी बन्यो।

डिल्लीकी १४ वर्षीया छोरी रमिला कक्षा ८ र १२ वर्षीय छोरा दीपक कक्षा ७ मा पढ्छन्। बुवा हराएको खबर पाएपछि दुवै बालबालिकाले विद्यालय जानसमेत छाडेका छन्।

‘बुवा हराएको खबर आएदेखि दुवै छोराछोरी स्कुल जान मान्दैनन्,’ कालिकाले भनिन्।

घरको आर्थिक अवस्था पनि कमजोर छ। बालबालिकाका लागि कापीकलम र पोसाक जुटाउनसमेत कठिन भइरहेको कालिकाले बताइन्।

‘घरमा तीन जना मात्रै छौँ। लास भेटिए पनि चित्त बुझ्थ्यो,’ उनले भनिन्, ‘खोज्न जाने मान्छे पनि कोही छैन। म स्वास्नी मान्छे कता जाऊँ ? अरू कोही छैन।’

डिल्लीले दसैंपछि गाउँमा राम्रो घर बनाउने सपना देखेका थिए। ‘एक लाख रुपैयाँ कमाइ ल्याएर आउँला, काठ काटेर राम्रो घर बनाउने’ उनको योजना थियो। तर त्यो सपना पनि अधुरै रह्यो।

गोरबहादुरको परिवारलाई न सासको खबर, न लासको

मुडुरीकै ३३ वर्षीय गोरबहादुर बुढा गत फागुनमा रोजगारीका लागि रसुवा पुगेका थिए। भदौ १० गतेको बाढीपछि उनी पनि सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएको २१ दिन बितिसक्दा पनि उनको अवस्था थाहा हुन सकेको छैन।

गोरबहादुरकी श्रीमती ३१ वर्षीया डिलमाया बुढाले भदौ १० गते बिहान करिब ७ बजे श्रीमान्सँग फोनमा कुरा गरेकी थिइन्। उनले रातिको ड्युटी सकेर आएको र असोज १६ गतेसम्म घर पुग्ने बताएका थिए।

‘अन्नपात भण्डारण गर्ने बेला पुग्छु, पीर नलिनु भनेका थिए,’ डिलमायाले सम्झिइन्।

गोरबहादुरका १२ वर्षीय दर्शन र नौ वर्षीय सूर्य गरी दुई छोरा छन्। दर्शन कक्षा ५ र सूर्य कक्षा ३ मा पढ्छन्।

श्रीमान्‌को अवस्थाबारे कुनै जानकारी नआएपछि डिलमायाको परिवार अनिश्चित प्रतीक्षामा छ।

‘न लास छ, न त जिउँदो भएको खबर छ। कुनै खबर छैन,’ उनले भनिन्, ‘लास भेटिए पनि शान्ति हुन्थ्यो।’

दाजुको खोजीमा गोरबहादुरका भाइ ऐनबहादुर बुढा पनि रसुवा पुगेका थिए। तर उनले पनि दाजुलाई भेट्न सकेनन्। भदौ १४ गते उनी रित्तो हात घर फर्किए।

‘राज्य छ भन्ने अनुभूति भएको छैन। हामी दूरदराजका मान्छेलाई राज्यले प्राथमिकतामा राखेन,’ डिलमायाले भनिन्।

१७५ घरको मुडुरी, तीन परिवारको एउटै प्रतीक्षा

गुठीचौर गाउँपालिका–२ को मुडुरी गाउँमा १७५ घरधुरी छन्। गाउँको उत्पादनले मुस्किलले छ महिना पनि खान पुग्ने अवस्था छैन। त्यही गाउँका तीन युवा रोजगारीका लागि बाहिरिएका बेला भोटेकोशी बाढीपछि सम्पर्कविहीन बनेका हुन्।

उनीहरूका परिवारका लागि अहिले दिन र रातको अर्थ एउटै छ, कुनै खबर आउँछ कि भन्ने प्रतीक्षा।

कसैकी छोरीले बुवाले भनेको ‘कक्षामा प्रथम हुनू’ भन्ने अन्तिम वाक्य सम्झिरहेकी छन्। कसैकी श्रीमतीले ‘असोज १६/१७ गते घर आउँछु’ भन्ने वाचा सम्झिरहेकी छन्। कसैले दसैंमा घर बनाउने सपना सम्झिरहेका छन्।

तर उनीहरू फर्किएनन्।

परिवार भने अझै बाटो हेरिरहेका छन्, सासको खबर आए आशा पलाउने, लास भेटिए कम्तीमा अन्तिम संस्कार गरेर मन बुझाउने प्रतीक्षामा नजर बाटोमा छ।

गुठीचौरका नौ जना अझै सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार रसुवाको बाढीपछि पातारासी गाउँपालिकाका ४९ जना र चन्दननाथ नगरपालिकाका चार जना नागरिक अझै सम्पर्कविहीन छन्।

गुठीचौर गाउँपालिका–२ का वडाध्यक्ष दिपबहादुर ऐडीका अनुसार गुठीचौर गाउँपालिकाका नौ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये मुडुरी गाउँका तीन, सोही वडाको गोठी गाउँका तीन, गुठीचौर–१ चोत्रा गाउँका दुई र गुठीचौर–५ देपाल गाउँका एक जना छन्। सिञ्जा गाउँपालिकाका एक जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

पीडितका लागि १२ लाख ६७ हजार सहयोग

यसैबीच गुठीचौर गाउँपालिकाले भदौ १६ गते बाढीपीडितका लागि १२ लाख ६७ हजार ३ सय ४८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार उक्त रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट संकलित रकम समावेश छ।

गाउँपालिकाले आफ्ना क्षेत्रसँग सम्बन्धित नौ जनालाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले कुल ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

तर राहत र सहयोगले तत्कालको आवश्यकता पूरा गर्न सके पनि मुडुरीका ती परिवारको सबैभन्दा ठूलो प्रतीक्षा अझै उस्तै छ, आफ्ना मान्छेको कुनै खबर।

‘घर आउँछु’ भनेर हिँडेका मुनीप्रसाद, डिल्ली र गोरबहादुर फर्किएनन्। उनीहरूका परिवारले भने अझै ढोका र बाटोतिर आँखा लगाइरहेका छन्।