जग्गाको अंशबन्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने बहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिने नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साह पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले सर्वेक्षक साहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालयअगाडि रहेको एक खाजाघरबाट मंगलबार नियन्त्रणमा लिएको थियो।
जग्गाको नक्सा संशोधन गरिदिन सेवाग्राहीलाई विभिन्न बहानामा दुःख र हैरानी दिँदै साहले घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
पक्राउ परेका सर्वेक्षक साहविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन विशेष अदालतबाट बुधबार गते म्याद थप गरिएको छ। उनीमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया