उपचारका लागि एम्बुलेन्समा सदरमुकाम गाईघाटतर्फ हिँडेका एक बिरामीको सडकमा पल्टिएको मालबाहक ट्रकका कारण अस्पतालसम्म पुग्न नपाउँदै बाटोमै मृत्यु भएको छ।

लिमचुङबुङ गाउँपालिका–४ बलम्तास्थित लाकु आधारभूत विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय केदार राईको उपचारका लागि गाईघाट ल्याउँदै गर्दा बाटोमै निधन भएको हो।

बलम्ता–माझखर्क–मुर्कुची कच्ची सडक खण्डअन्तर्गत रौतामाई गाउँपालिका–८ स्थित पुँवारे भञ्ज्याङमा १६ चक्के मालबाहक ट्रक पल्टिएर सडक अवरुद्ध भएपछि राई सवार एम्बुलेन्स अघि बढ्न सकेन। गम्भीर अवस्थामा रहेका राईलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याउन खोजिए पनि सडक अवरुद्ध हुँदा समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसकिएको लिमचुङबुङ–४ का वडा सदस्य चीनबहादुर राईले बताए।

उनका अनुसार मंगलबार साँझ राईलाई अचानक टाउको दुख्नुका साथै असहज भएको थियो। बुधबार बिहान उनलाई गाउँ अस्पताल बाराहामा लगेर जाँच गराउँदा जण्डीस देखिएको थियो। अवस्था गम्भीर रहेको भन्दै चिकित्सकले जिल्ला अस्पताल रिफर गरेपछि तत्काल एम्बुलेन्समा राखेर गाईघाटतर्फ पठाइएको थियो।

तर पुँवारे भञ्ज्याङमा ट्रक पल्टिएर सडक अवरुद्ध भएको पाइएपछि एम्बुलेन्स अघि बढ्न सकेन। त्यसपछि गाईघाटबाट अर्को एम्बुलेन्स मगाउने प्रयास गरिएको थियो। एम्बुलेन्सको व्यवस्था हुँदासम्म राईको अवस्था झन् गम्भीर बन्दै गएपछि आकस्मिक उपचारका लागि अक्सिजन दिँदै गाईघाट लैजान खोजिएको थियो।

तर अस्पताल पुग्न नपाउँदै बुधबार दिउँसो करिब ४ बजे राईको बाटोमै निधन भएको वडा सदस्य राईले बताए।

उपचारका लागि अस्पताल पुग्ने आशामा एम्बुलेन्स चढेका राई सडक अवरुद्ध भएकै कारण अस्पतालसम्म पुग्न नपाई घर फर्काइएका छन्। उनको शव उपचार नपाएर बाटैमा निधन भएपछि आफ्नै गाउँ बलम्ता लगिएको छ।

पुँवारेमा पल्टिएको ट्रक अझै हटाउन नसकिएको स्थानीयले बताएका छन्। पहाडी भेगको साँघुरो, कच्ची र अप्ठ्यारो सडकमा डाइभर्सनसमेत नभएको अवस्थामा बढी भार बोकेका मालबाहक ट्रक सञ्चालन गर्दा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको स्थानीयको भनाइ छ।

राई प्रअ रहेको आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा गाउँकार्यपालिका सदस्य गणेश राईले मालबाहक ट्रकको लापरबाहीका कारण बिरामीले उपचारसमेत नपाई ज्यान गुमाउनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद भएको बताए।

उनका अनुसार साँघुरो र डाइभर्सन नभएको सडकमा बढी भार बोकेका मालबाहक ट्रक चलाउँदा सडक बिग्रिने तथा मोटरसाइकल र बोलेरोलगायतका सवारी घण्टौँसम्म रोकिने समस्या हुँदै आएको थियो। तर यसपटक सडक अवरुद्ध हुँदा उपचारका लागि हतारिँदै गरेको एम्बुलेन्ससमेत अघि बढ्न नसकी बिरामीको ज्यान गएको उनले बताए।

स्थानीयले सडकको अवस्था सुधार गर्दै दुर्घटनाका कारण हुने अवरोध तत्काल हटाउने व्यवस्था गर्न माग गरेका छन्।