नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको राष्ट्रिय बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ।
बुधबार विराटनगरमा पत्रकारसँगको अन्तर्क्रियामा प्राधिकरण विराटनगरका सहायक निर्देशक सचिन राईले आर्थिक वर्ष २०८२/८३ मा ५२ दशमलव ०४ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको जानकारी दिए। आर्थिक वर्ष २०८१/८२ मा यो हिस्सा ४८ दशमलव ३३ प्रतिशत थियो।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जीवन र निर्जीवन बिमाबाट कुल २ खर्ब ५६ अर्ब ५२ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो शुल्क २ खर्ब २७ अर्ब १९ करोड रुपैयाँ थियो। यसमध्ये जीवन बिमातर्फ २ खर्ब ४ अर्ब ६० करोड र निर्जीवन बिमातर्फ ५९ अर्ब ९२ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ।
कोशी प्रदेशमा पनि बिमाको दायरा विस्तार हुँदै गएको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा जीवन बिमातर्फ २० लाख ६३ हजार बिमालेख सक्रिय रहेका छन् भने २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ।
निर्जीवन बिमातर्फ सोही अवधिमा ४ लाख ४९ हजार ४ सय २७ बिमालेखमार्फत ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ। पशुधन तथा बाली बिमामा सरकारले ८० प्रतिशतसम्म बिमा शुल्क व्यहोर्ने व्यवस्था गरे पनि अपेक्षित रूपमा बिमा हुन नसकेको प्राधिकरणले जनाएको छ।
प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनका अनुसार प्रदेश सरकारले विभिन्न बिमा योजनामा सहकार्य गर्दै आएको छ। प्रदेश सरकारसँगको सहकार्यमा पत्रकार दुर्घटना बिमा कार्यक्रम सुरु गरिएको छ भने जंगली जनावरबाट हुने क्षतिको बिमा गर्ने विषयमा अध्ययन भइरहेको छ।
कार्यक्रममा कोशी प्रदेश पत्रकार महासंघका अध्यक्ष भरत खड्काले पत्रकारको दुर्घटना बिमासँगै स्वास्थ्यलगायतलाई समेट्ने एकीकृत बिमा योजना ल्याउन प्राधिकरणलाई आग्रह गरे।

प्रतिक्रिया