बुटवल, साउन १५। कर्मयोगी समाजसेवी गणेशमान सैजुको ९४औँ तथा समाजसेवी कृष्णप्यारी सैजुको ९३औँ जन्मजयन्तीको अवसरमा बुटवलमा पुरस्कार वितरण, छात्रवृत्ति प्रदान तथा शिक्षा अक्षयकोषमा सहयोग हस्तान्तरणलगायत विविध कार्यक्रम सम्पन्न भएका छन्।विश्व हिन्दु महासंघ नेपाल, रुपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम तथा गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा “एक युगको चिनारी” जीवनगाथामा आधारित वृत्तचित्र सार्वजनिक गरिएको थियो। साथै १३औँ गणेश–कृष्ण पुरस्कार वितरण, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान र विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको शिक्षा अक्षयकोषमा सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले समाजसेवी गणेशमान सैजुले शिक्षा, समाजसेवा र मानवीय सेवाका क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले निस्वार्थ सेवाभावले समाज परिवर्तनमा लाग्ने व्यक्तित्वहरू भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुने उल्लेख गर्दै सैजु दम्पतीको योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस वर्षको १३औँ गणेश–कृष्ण पुरस्कार विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पाँच व्यक्तित्वलाई प्रदान गरिएको थियो। पुरस्कारबाट वरिष्ठ चिकित्सक डा. तरुण पौडेल, वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठ, डा. नरेन्द्र बहादुर श्रेष्ठ, साहित्यकार देवेन्द्रराज शाक्य तथा रोशन कुमार थापा सम्मानित हुनुभएको थियो।
कार्यक्रममा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई रु. १० हजार ४ सय बराबरको छात्रवृत्ति वितरण गरिएको थियो। साथै विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको शिक्षा अक्षयकोषमा रु. २५ हजार सहयोग हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालक तथा समाजसेवी अनुपमान सैजुले जानकारी दिनुभयो।सोही अवसरमा नवजागृति बुलेटिनको १४४औँ अंक र ॐ ज्ञानज्योतिको ११५औँ अंक विमोचन गरिएको थियो। कार्यक्रममा साहित्यिक वातावरण सिर्जना गर्दै विभिन्न स्रष्टाहरूले कविता वाचनसमेत गरेका थिए।कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मयोगी समाजसेवी गणेशमान र कृष्णप्यारी सैजुको समाजसेवा, शिक्षा र मानवीय मूल्यप्रतिको समर्पण अनुकरणीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सेवा, शिक्षा र संस्कृतिप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।विश्व हिन्दु महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, धार्मिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया