बुटवल, १६ साउन।
कर्मयोगी समाजसेवी गणेशमान सैजुको ९४औँ तथा समाजसेवी कृष्णप्यारी सैजुको ९३औँ जन्मजयन्तीको पावन अवसरमा उहाँहरूको जीवन, व्यक्तित्व, समाजसेवा तथा मानवीय योगदानलाई समेटिएको ‘गणेशमान–कृष्णप्यारी : एक युगको चिनारी’ शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको छ।
विश्व हिन्दु महासंघ नेपाल, रुपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम तथा **गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट)को संयुक्त आयोजनामा बुटवलमा सम्पन्न विशेष समारोहमा उक्त वृत्तचित्रको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, शिक्षाविद्, साहित्यकार, धार्मिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
वृत्तचित्रमा गणेशमान र कृष्णप्यारी सैजु दम्पतीले समाजसेवा, शिक्षा, मानवीय सेवा, धार्मिक तथा सांस्कृतिक संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याउनुभएको दीर्घकालीन योगदानलाई तथ्य, स्मरण र प्रेरणादायी घटनामार्फत प्रस्तुत गरिएको छ। उहाँहरूको निस्वार्थ सेवा, परोपकारी भावना र समाजप्रतिको समर्पणले आज पनि समाजलाई सकारात्मक दिशातर्फ प्रेरित गरिरहेको सन्देश वृत्तचित्रमार्फत प्रवाह गरिएको छ।
कार्यक्रमका वक्ताहरूले सैजु दम्पतीको जीवन केवल इतिहासको एउटा अध्याय नभई वर्तमान र भावी पुस्ताका लागि अनुकरणीय प्रेरणाको स्रोत भएको उल्लेख गर्दै समाजमा सेवा, त्याग, शिक्षा र मानवीय मूल्यको संस्कार विकास गर्न उहाँहरूको योगदान अतुलनीय रहेको बताए। समाजसेवा केवल स्मरण गर्ने विषय नभई व्यवहारमा उतार्दै पुस्तान्तरण गर्नुपर्ने जीवनदर्शन भएको उनीहरूको भनाइ थियो।
सोही अवसरमा प्रतिष्ठानद्वारा प्रदान गरिने १३औँ गणेश–कृष्ण पुरस्कार, छात्रवृत्ति वितरण, शिक्षा अक्षयकोषमा सहयोग हस्तान्तरण तथा विभिन्न सामाजिक एवं मानवीय अभियानलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। कार्यक्रमले स्वर्गीय गणेशमान–कृष्णप्यारी सैजु दम्पतीले स्थापना गर्नुभएको सेवा, समर्पण र सामाजिक उत्तरदायित्वको परम्परालाई अझ सशक्त रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया