न्यू बाल गृहको २४औँ वार्षिकोत्सव तथा तेस्रो सामाजिक लेखापरीक्षण सम्पन्न
काठमाडौं । न्यू बाल गृहको २४औँ वार्षिकोत्सव तथा तेस्रो सामाजिक लेखापरीक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा योगदान पुर्याउँदै आएको न्यू बाल गृहले आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा संस्थाको वार्षिक गतिविधि तथा प्रगतिबारे जानकारी गराउँदै तेस्रो सामाजिक लेखापरीक्षणसमेत सम्पन्न गरेको हो।
कार्यक्रममा मिलीजुली सामाजिक प्रतिष्ठानका प्रतिनिधि , स्थानीय प्रतिनिधि, सामाजिक लेखापरीक्षक नवराज भट्टलगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। हाल न्यू बाल गृहमा १७ जना बालबालिका आश्रित रहेको कार्यक्रममा जानकारी दिइयो।
सामाजिक लेखापरीक्षणका क्रममा संस्थाको व्यवस्थापन, सेवा प्रवाह तथा बालबालिकाको हेरचाह र संरक्षणका गतिविधिहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको थियो। संस्थाले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आफ्ना गतिविधिलाई निरन्तर सुधार गर्दै आएको जनाइएको छ।
कार्यक्रममा संस्थाको आगामी यात्रालाई थप प्रभावकारी बनाउन नीति तथा कार्यविधिलाई समयसापेक्ष रूपमा अद्यावधिक गर्दै लैजानुपर्ने सुझाव दिइएको छ। साथै संस्थाका गतिविधि, उपलब्धि तथा प्रगतिलाई वेबसाइटमार्फत नियमित रूपमा सार्वजनिक गर्दै सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट निरन्तर सहयोग, सहकार्य तथा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संघसंस्थालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। संस्थाको यात्रामा सहयोग पुर्याउने सहयोगी तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा बालबालिकाको उज्ज्वल भविष्य निर्माण, शिक्षा तथा संरक्षणका लागि समुदाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सहयोगी निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो।
२४ वर्षको यात्रालाई निरन्तरता दिँदै न्यू बाल गृहले आगामी दिनमा बालबालिकाको हित, अधिकार र समग्र विकासलाई केन्द्रमा राखेर आफ्नो सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया