बुटवल। शुक्रबारदेखि प्रदर्शनमा आएको सामाजिक कथावस्तु बोकेको चलचित्र ‘मन बिनाको धन’ ले बक्स अफिसमा अपेक्षित शो पाउन नसके पनि दर्शकको मन जित्न सफल भएको छ। यसै सन्दर्भमा, बुटवलमा फिल्मको सन्देशलाई सामाजिक सरोकारसँग जोड्दै एक विशेष प्रदर्शनको आयोजना गरिएको छ।

​बुटवलका समाजसेवी रारा सैंजु, अनुपमान सैंजु र उहाँको परिवारले आफ्ना इष्टमित्र तथा मिलिजुली सामाजिक प्रतिष्ठानको सहयोगमा आश्रममा आश्रित ज्येष्ठ नागरिक (आमाबुवा)हरूलाई बुटवलस्थित क्युएफएक्स (QFX INI) मा फिल्म हेराएका हुन्। निर्देशक टंक बुढाथोकीले सडकबाट स्टार बनेका गायक अशोक दर्जीको जीवनमा आधारित भएर बनाएको यो फिल्म हेरेपछि उपस्थित ज्येष्ठ नागरिकहरूले भावुक हुँदै प्रशंसा गरेका थिए।

​के भन्छन् समाजसेवी सैंजु परिवार

​फिल्म प्रदर्शनपछि प्रतिक्रिया दिँदै अनुपमान सैंजुले समाजमा असहाय बालबालिका र अनाथ ज्येष्ठ नागरिकका लागि माया, सद्भाव र अवसरको खाँचो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रै कारणले असहाय भएका र नैतिकता अनि सामाजिक कुरीतिले अनाथ भएका बालबालिकाहरूलाई सबैले माया गर्नुपर्छ। अवसरको खाँचो छ, हामीले अवसर सिर्जना गर्नुपर्छ।”

साथै, आफ्ना बुवा गणेशमान सैंजुले स्थापना गरेको आश्रमको अनुभव सुनाउँदै उहाँले आफ्ना बुवाआमा र छोराछोरीलाई सधैँ माया र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। मिलिजुली सामाजिक प्रतिष्ठानकि संरक्षक रारा सैंजुले महिलाहरू आत्मनिर्भर नहुँदा घरपरिवार र समाजले गर्ने तिरस्कारले समाजमा समस्याहरू निम्त्याएको धारणा राखिन्। महिला सशक्तीकरण आजको आवश्यकता भएकोमा जोड दिँदै उहाँले ‘मन बिनाको धन’ ले महिला आत्मनिर्भरताको विषयलाई सशक्त रूपमा उठाएको बताउनुभयो।

​बक्स अफिसमा संघर्ष, माउथ पब्लिसिटीको आशा

​गायक अशोक दर्जी स्वयं मुख्य भूमिकामा रहेको यस फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त लगायतका कलाकारहरूको अभिनय छ। टंक बुढाथोकीको कथा तथा शिवम् अधिकारीको पटकथा रहेको यो फिल्मले देशभर ‘जारी २’ सँगको प्रतिस्पर्धाका कारण जम्मा ५२ शो मात्र पाउन सकेको छ।

​यद्यपि, फिल्मले ५२ शोमा पनि राम्रो दर्शक उपस्थिति (अकुपेन्सी) कायम गर्न सफल भएको छ। मन बिनाको धन’ ले माउथ अफ पब्लिसिटी (सकारात्मक चर्चा) का कारण आगामी दिनमा थप शो पाउने र व्यावसायिक सफलता हासिल गर्ने आशा गरिएको छ।