भोटेकोशी बाढी क्षेत्रबाट उद्दार गरी ल्याइएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

एक सूचना जारी गर्दै ट्रमा सेन्टरले उपचारका क्रममा डंगोलको मृत्यु भएको जानकारी दिएको हो।

अस्पतालमा हालसम्म उपचारको लागि ३८ जना भर्ना गरिएकोमा २१ जना डिस्चार्ज गरिएको छ। जसमध्ये एक जनाको वीर अस्पताल रिफर गरिएको छ भने दुई जनाको एचडियू र १३ जना वार्ड मा उपचाररत रहेका अस्पतालले जनाएको छ।

यस्तै, ट्रमा सेन्टरले अस्पताल परिसरमा अनावश्यक भीड नगर्न तथा घाइते र बिरामीको गोपनीयता र उपचार प्रक्रियालाई ध्यानमा राख्दै अनुमति बिना फोटो तथा भिडियो नखिच्न आग्रह गरेको छ।