लगातारको वर्षा र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा आवतजावत ठप्प भएको छ।
नेपाल प्रहरीले मंगलबार राति साढे ८ बजे जारी गरेको अपडेट अनुसार विभिन्न प्रदेशका ११ वटा सडक खण्डहरू पहिरोका कारण पूर्ण रूपमा ठप्प छन् भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्य राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।
बाढीपहिरोको उच्च जोखिम रहेका बागमती प्रदेशका दुई मुख्य मार्गमा रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
वि.पि. राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।
यो सडक खण्डमा बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र गाडी चल्न पाउनेछन्। यस्तै, कान्ति लोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
मंगलबार मात्रै थप दुई जिल्लाका मुख्य सडक ठप्प भएका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक र गोरखाको धार्चे गाउँपालिका–७ लिदिस्थित आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसअघि देखि नै ठप्प रहेका अरनिको राजमार्गका दुई खण्ड अझै खुल्न सकेका छैनन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र भोटेकोशी–२ कोदारीस्थित ईकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प छ।
यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर र जाजरकोटको नलगाड नगरपालिका–८ बगरस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा सडक खण्ड) पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
कोशी प्रदेशतर्फ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खास्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण ठप्प भए पनि त्यहाँ वैकल्पिक बाटो सुचारु छ। भोजपुरको मध्य पहाडी लोकमार्ग (भोजपुर–५ बोखिम) र रसुवाको पासाङ ल्हामु सडक खण्ड (गोसाइँकुण्ड–६ बोकेझुण्डा) भने एकतर्फी सुचारु रहेका छन्।


प्रतिक्रिया