काठमाडौंका दुई अलग स्थानमा फेरि आत्मदाहको प्रयास गरिएको छ। मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रामेछापको दोरम्बा गाउँपालिका-१ का २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरी नियन्त्रणमा लिएको थियो।

शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण र काउन्सेलिङ गराएर उनलाई रिहा गरिएको छ। जोरपाटी बस्दै आएका तामाङले पूर्वराजालाई भेट्न पाँच पटक प्रयास गरे पनि भेट्न नपाएको प्रहरीसमक्ष बताएका छन् ।

उता, काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्ने जीवन अधिकारीले पनि आत्मदाहको प्रयास गरेका छन्। नगरपालिकाले कार्यालय समयमा सडकमा व्यापार गर्न रोक लगाइ साँझ ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न दिने नियम बनाएका कारण उनले आत्मदाहको प्रयास गरेका हुन्।

नगरपालिकाले जीविकोपार्जन कठिन बनाएको उनको गुनासो छ। नगर प्रहरीले सडक पेटी खाली गराउँदा व्यापारमा घाटा लागेको गुनासो गरेका अधिकारीलाई कीर्तिपुर वृत्तको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाएको छ।