भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोककल्याण मार्गस्थित निवास नजिकै विरोध प्रदर्शनका क्रममा पक्राउ परेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रासहितका वरिष्ठ विपक्षी नेताहरू रिहा भएका छन्।

नीट परीक्षाको प्रश्नपत्र चुहावटको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले हालै दिल्लीमा विद्यार्थीमाथि भएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको समेत राजीनामा दिनुपर्ने माग गरेका छन्।

दिल्ली प्रहरीले लोककल्याण मार्गबाट राहुल र प्रियंकासहित अखिलेश यादव र अन्य नेताहरूलाई नियन्त्रणमा लिएको थियो। गान्धीलाई दुई घण्टाको हिरासतपछि छत्रसाल रंगशालाबाट र प्रियंकालाई मन्दिर मार्ग प्रहरी चौकीबाट रिहा गरिएको हो। मन्दिर मार्ग चौकीमा उनकी आमा तथा वरिष्ठ कांग्रेस नेतृ सोनिया गान्धी पनि पुगेकी थिइन्।

मन्दिर मार्ग प्रहरी चौकीबाट रिहा भएपछि प्रियंका गान्धी वाड्राले भनिन्, ‘सरकारले शिक्षा प्रणालीमा सुधार गर्न र पेपर चुहावट रोक्न सख्त विधेयक ल्याउनुपर्छ।’

यसैबिच, भाजपा अध्यक्ष नितिन नवीनले राहुलको व्यवहार पदको गरिमा अनुकूल नभएको बताएका छन्। उनले प्रधानमन्त्री निवासतर्फको मार्चमा अराजकता सिर्जना गर्ने प्रयास भएको र मर्यादा उल्लंघन गर्ने राजनीति अस्वीकार्य रहेको बताए।

यसअघि, प्रधानमन्त्री कार्यालयका केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहले गान्धीले वार्ताका क्रममा वाचा तोडेको आरोप लगाएका थिए। सिंहका अनुसार नीट मुद्दामा संसदमा छलफल गराउने सहमति भए पनि गान्धीले पछि शिक्षा मन्त्रीको राजीनामाको नयाँ सर्त थपेका थिए।

यसबिच, दिल्ली उच्च अदालतले सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्त अस्पतालमा सार्न अनुमति दिएको छ। उनी पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै अनशन बसेका थिए। तर प्रहरीले उनलाई जबरजस्ती अनशनस्थलबाट नियन्त्रणमा लिएको थियो।

सोहीकारण पनि ककरोच जनता पार्टीको जारी आन्दोलन थप उग्र भएको हो। सो पार्टीका संस्थापक अभिजीत दिपकेले प्रदर्शनकारीहरूलाई तोकिएको स्थान जन्तरमन्तरमा मात्र रहन सीमित रहन आह्वान गरेका छन्।