भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुहावट र भ्रष्टाचारविरुद्ध ठूलो प्रदर्शन गरेका छन्। ककरोच जनता पार्टी (सिजेपी) का हजारौं समर्थकहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सोमबार संसद् भवनतर्फ मार्च गरेका हुन्।

प्रदर्शनकारीहरू सुरक्षा घेरा र बार तोडेर संसद्तर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको थियो। भीडलाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र अर्धसैनिक बलहरूले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेका छन्। झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तरमन्तर र संसद् वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ। प्रहरी कारबाहीपछि भीड तितरबितर भयो। बाहिर हंगामा भइरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै सांसदहरू संसदमा उपस्थित थिए।

यो सम्पूर्ण घटनाकोबिचमा, ककरोच जनता पार्टीका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री जेपी नड्डालाई भेटे। प्रदर्शन उग्र बन्दै गएपछि सरकारले आन्दोलनरत पक्षसँग संवादको प्रयास तीव्र बनाएको छ। यसैक्रममा सिजेपीका नेताहरू सौरभ दास र आशुतोष राँकाले केन्द्रीय स्वास्थ्यमन्त्री नड्डालाई भेटेर आफ्ना मागहरू राखेका छन्। नेता दासले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘मन्त्रीले हामीलाई यसबारे उपयुक्त स्तरमा छलफल गर्ने आश्वासन दिनुभएको छ। यद्यपि, अहिलेसम्म कुनै प्रतिबद्धता गरिएको छैन।’ उच्च तहमा भएको यो भेटलाई आन्दोलनको क्रममा सरकार र प्रदर्शनकारीबिच भएको पहिलो औपचारिक र मुख्य संवादको रूपमा हेरिएको छ। दासका अनुसार नड्डाले अब कुनै प्रकारको बलपूर्वक कारबाही नगर्ने आश्वासन दिएका थिए। तर दिल्ली प्रहरीले कारबाही नरोकेको उनको दाबी छ।

ककरोच जनता पार्टीका प्रतिनिधि आशुतोष राँकाले दाबी गरेअनुसार केन्द्रीय मन्त्री नड्डाले भाजपाको शीर्ष नेतृत्वसँग मागहरूबारे छलफल गर्न केही समय अनुरोध गरेका छन्। राँकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भेटमा सिजेपीले तीन प्रमुख मागहरू राखेको जानकारी गराए। उनका अनुसार पहिलो, सोनम वाङचुकलाई तुरुन्तै रिहा गरिनुपर्छ; दोस्रो, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ; र तेस्रो, आत्महत्या गरेका नीट-यूजी २०२६ को तयारी गरिरहेका परीक्षार्थीहरूको परिवारलाई प्रतिव्यक्ति एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिइनुपर्छ।

आज बिहान पहिलो पटक प्रदर्शनकारीहरूले सरकारसँग वार्ता गर्ने प्रस्ताव राखे र छलफल स्थानीय समय अनुसार बिहान ११:५० बजेदेखि अगाडि बढ्यो। बैठक सौहार्दपूर्ण रहेको र उनीहरूको प्रतिनिधिमण्डलले यस विषयमा मौखिक रूपमा विस्तृत छलफल गरी स्थानीय समय अनुसार दिउँसो ४ बजेतिर लिखित ज्ञापनपत्र बुझाएको बताइएको छ। प्रशासनले सबै प्रदर्शनकारीहरूलाई आफ्नो धर्ना विरोध अन्त्य गर्न र सामान्य अवस्था पुनर्स्थापित गर्न सहयोग गर्न अनुरोध गरेको छ।

गत मे महिनामा राष्ट्रिय मेडिकल प्रवेश परीक्षाका प्रश्नपत्रहरू चुहावट भएपछि लाखौँ विद्यार्थीहरू प्रभावित भएका थिए। सोही घटना र भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई साङ्लोको संज्ञा दिएपछि युवाहरूले व्यङ्ग्यात्मक रूपमा ‘ककरोच जनता पार्टी’ गठन गरेर विरोध प्रदर्शन गर्दै आएका हुन्। यसैबिच, गत शनिबार स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत कार्यकर्ता सोनम वाङचुकलाई प्रहरीले जबरजस्ती अस्पताल भर्ना गरेपछि आन्दोलन थप चर्किएको हो।

घटनास्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

स्वास्थ्यमन्त्री जेपी नड्डालाई सिजेपीले पठाएको पत्र हेर्नुस्

Image
Image