युक्रेनले रूसी राजधानी मस्कोलाई लक्षित गर्दै चार सयभन्दा बढी ड्रोन प्रहार गरेको छ। युक्रेनी विरोध प्रदर्शन र घरेलु राजनीतिक संकटका बिच मस्कोको मेयरले सोमबार यस ठूलो आक्रमणको पुष्टि गरेका छन्।
रूसले किभ र अन्य युक्रेनी सहरहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि यो आक्रमण भएको हो। यो घटनाले मस्कोको चार वर्षभन्दा पुरानो आक्रमणलाई अन्त्य गर्ने सम्झौताको सम्भावनालाई थप टाढा धकेलेको छ।
यसैबिच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको पछिल्लो पुनर्गठनले सेनाका पुराना अधिकारी र युवा नवप्रवर्तकहरूबिचको विभाजन उजागर गरेपछि घरेलु राजनीतिक संकटलाई कम गर्न सोमबार ‘महत्वपूर्ण वार्ता’ गर्ने बताएका छन्। जेलेन्स्कीले ३५ वर्षीय मिखाइलो फेडोरोभलाई रक्षामन्त्री पदबाट हटाउँदै ६० वर्षीय सोभियत प्रशिक्षित जनरल ओलेक्जेन्डर सिर्स्कीलाई सशस्त्र सेना प्रमुख बनाइएको कदमले रूस विरुद्धको लडाइँमा कुनै असर नपर्ने भन्दै युक्रेनी जनतालाई आश्वस्त पार्न खोजेका छन्।
राष्ट्रपति जेलेन्स्कीको यो कदमपछि फेडोरोभको पक्षमा र सिर्स्कीविरुद्ध सडकमा दिनभर विरोध प्रदर्शन भएको थियो। मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतबार रातिदेखि सोमबार बिहानसम्म चार सयभन्दा बढी युक्रेनी ड्रोन रूसी राजधानीतर्फ पठाइएको बताए। जसमध्ये अधिकांश सहरभन्दा टाढै खसालिए भने ८५ वटालाई नजिकै रोकियो।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभले युक्रेनी ड्रोन आक्रमणबाट १० जना घाइते भएको र धेरै आवासीय भवनमा क्षति पुगेको बताएका छन्। साथै, मस्कोबाट दक्षिणमा रहेको औद्योगिक पार्क र तेल डिपोमा पनि आक्रमणबाट आगलागी भएको समाचार बाहिर आएको छ।
युक्रेनी सेनाले मस्को क्षेत्रका रसद सुविधा र तेल डिपोमा प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताए। उनले किभका सेनाले कालो सागरमा चारवटा सुक्खा कार्गो जहाज र रूसको तेल ढुवानी गर्ने दुईवटा जहाजमाथि पनि प्रहार गरेको जानकारी दिए।
कार्यवाहक गभर्नर अलेक्ज्याण्डर शुभायेभका अनुसार युक्रेनको सिमाना नजिकै पर्ने रूसको बेल्गोरोड क्षेत्रमा ड्रोनले यात्रुबाहक बसलाई प्रहार गर्दा चार महिला र एक बालक गरी पाँचजनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन्। दुवै पक्षका यी दाबीहरू भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
युद्धका क्रममा युक्रेनको लामो दूरीको ड्रोन प्रविधि विकसित हुँदै गएको छ, जसले रूसका लागि थप समस्या सिर्जना गरेको छ। विशेष गरी रूसी तेल सुविधाहरूलाई लक्षित गर्दा त्यहाँ इन्धनको अभाव हुनुका साथै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत दबाबमा पारेको छ।
यसअघि मे महिनामा रूसी रक्षा मन्त्रालयले २४ घण्टाको अवधिमा एक हजार ५४ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको थियो। युक्रेनी वायुसेनाले पनि रातभर रूसले प्रहार गरेका ९४ वटा लामो दूरीका ड्रोन र दुईवटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई रोक्न सफल भएको जनाएको छ।
यता, रूसी रक्षा मन्त्रालयले दक्षिणी युक्रेनी बन्दरगाह ओडेसाको इन्धन ट्यांकीमा आक्रमण गरेको बताएको छ। त्यस्तै, निप्रोपेट्रोभस्क क्षेत्रको पावलोह्राडमा भएको रूसी आक्रमणमा १३ वर्षीया बालिकासहित १३ जना घाइते भएका छन्। उता, ओडेसा बन्दरगाहबाट छुटेको कार्गो जहाजमा भएको आक्रमणमा सिरियाली नाविकसहित १० जनाको मृत्यु भएको छ।
सिरियाली सीमा तथा भन्सार विभागले ‘युक्रेनी बन्दरगाह र कालो (लाल) सागर नजिकैका समुद्री क्षेत्रमा सिरियाली नाविक र चालक दल भएका व्यावसायिक जहाजहरूलाई लक्षित गरी बारम्बार गरिएका आक्रमणहरूप्रति कडा निन्दा गर्दछ’ भनेको छ। एजेन्सी


प्रतिक्रिया