सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा जलेका उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार शुक्रबार दिउँसो करिब १:३० बजे मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। शरीरको ठूलो भाग जलेर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

No description available.

छ महिनाअघि जागिर गुमेपछि मानसिक तनाव

परिवारका अनुसार विवेक मण्डल महोत्तरीको गौशालास्थित एक सरकारी विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। अंग्रेजी विषयमा स्नातकोत्तर (मास्टर्स) गरेका उनी करिब छ महिनाअघि विद्यालयको अस्थायी जागिर गुमाएपछि मानसिक रूपमा गम्भीर तनावमा परेका थिए।

घाइतेका बुवा उपेन्द्र मण्डलले पनि छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्। पारिवारिक सदस्यहरूले उनी मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेको जानकारी दिएको प्रहरीले जनाएको छ।

‘मामा, जसरी पनि आँप लिएर आउनुस्’

विवेकका मामा श्रीनारायण मण्डलका अनुसार घटनाअघि भान्जाले फोन गरेर अस्वाभाविक अनुरोध गरेका थिए।

“आज दिउँसो भान्जाले फोन गरेर ‘मामा, जसरी पनि गोडैताको कोसेली आँप लिएर आउनुस्’ भनेका थिए। घरको काम सकेर आँप लिएर उनको घरतर्फ जाँदै थिएँ। बाटोमै उनले आत्मदाह गरेको खबर पाएँ,” उनले बताए।

घटनाको जानकारी पाएलगत्तै श्रीनारायण मलङ्गवा प्रादेशिक अस्पताल पुगेका थिए। प्राथमिक उपचारपछि विवेकलाई उनका बुवा उपेन्द्र मण्डलसँगै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको उनले बताए।

शान्त स्वभावका शिक्षक

परिवारका अनुसार विवेककी श्रीमती करिना देवी छन्। उनका पाँच वर्षीय छोरा काइरभ र तीन वर्षीया छोरी कृति छन्। स्थानीयका अनुसार विवेक शान्त, भद्र र सबैसँग राम्रो व्यवहार गर्ने व्यक्तिका रूपमा परिचित थिए। त्यसैले उनले यस्तो कदम चालेको खबरले गाउँ नै स्तब्ध बनेको छ।

गोडैता नगरपालिका–१० का वडाध्यक्ष बैद्यनाथ मण्डलले विवेक शिक्षित र सामाजिक रूपमा मिलनसार व्यक्ति भएको बताए। उनका जेठा दाजु मुकेश मण्डल विगत नौ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन्।

No description available.

निःशुल्क उपचारको माग

घटनाबारे जानकारी पाएपछि हाल चीन भ्रमणमा रहेका सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घाइतेको शीघ्र उद्धार, सुविधासम्पन्न अस्पतालमा उपचार तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

डीएसपी गौतमका अनुसार विवेकको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको बताएका छन्। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।