थारु, भोजपुरी, मैथिली तथा नेपाली भाषाका ३५० भन्दा बढी गीतमा अभिनय गरिसकेकी कलाकार काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’को निर्माण टिममाथि आफूलाई जातीय तथा क्षेत्रीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाएकी छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै कर्णले आफू मधेसी भएकै कारण पटक–पटक अपमान, अवहेलना र दुर्व्यवहारको सामना गर्नुपरेको दाबी गरेकी हुन्।
उनका अनुसार चलचित्रमा अनुबन्धित भएपछि हरिवंश आचार्य र करिश्मा मानन्धरजस्ता वरिष्ठ कलाकारसँग काम गर्ने अवसर पाएकोमा निकै उत्साहित थिइन्। तर, सुरुवातदेखि नै आफूलाई सम्मानजनक व्यवहार नगरिएको उनले उल्लेख गरेकी छन्।
कर्णले स्टाटसमा लेखेकी छन्, ‘डिजाइनरले मेरो नाप लिए पनि काठमाडौंमा हुने सुटिङका लागि आफ्नै लुगा व्यवस्था गर्न भनियो। सुटिङ स्थलसम्म पनि आफ्नै खर्चमा पुग्नुपर्यो।’
उनले सुटिङ सेटमा पुगेपछि मुख्य सहायक निर्देशक नेत्रले ‘लुगा खोइ?’ भन्दै हप्काएको तथा अन्य कलाकारबाट समेत असहज व्यवहार भएको आरोप लगाएकी छन्। ‘कलाकार होइन, कुनै अछुतजस्तो व्यवहार गरियो,’ भन्ने उनको भनाइ छ।
कर्णका अनुसार एक पुरुष मेकअप आर्टिस्टले पनि मधेसी भएकै कारण दुर्व्यवहार गरेको र आफूलाई दुई दिनसम्म कलाकारभन्दा पनि मजदुरसरह काम गराइएको अनुभव सुनाएकी छन्।
उनले आफ्नो पारिश्रमिक मागेपछि निर्देशक दीपकप्रसाद आचार्यको निर्देशनमा आफूलाई चलचित्रबाट हटाइएको दाबी गरेकी छन्। ‘कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले “तिमी अब रहने भएनौ, तिम्रो लुगा छुटेको भएर मात्रै बोलाइएको हो” भनिन्,’ उनले स्टाटसमा उल्लेख गरेकी छन्।
कर्णले आफूले अहिलेसम्म पारिश्रमिकसमेत नपाएको दाबी गर्दै यो घटना केवल एउटा भूमिका गुमाएको विषय नभई नेपाली चलचित्र उद्योगमा मधेसी कलाकारले भोग्नुपर्ने विभेद र संकीर्ण सोचको उदाहरण भएको बताएकी छन्।
उनले चलचित्र ‘चिरञ्जीवी भवः’को टिमका कारण आफूले गम्भीर मानसिक तनावसमेत भोग्नुपरेको उल्लेख गरेकी छन्।
यस विषयमा चलचित्र ‘चिरञ्जीवी भवः’का निर्देशक तथा निर्माण टिमको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


प्रतिक्रिया