सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष (कार्यकारी प्रमुख) मा पूर्वउपरथी तथा वरिष्ठ चिकित्सक प्रा. डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेको आयोगको कार्यकारी नेतृत्वमा उनको नियुक्तिसँगै चिकित्सा शिक्षा सुधारका कामले गति लिने अपेक्षा गरिएको छ। पछिल्लो समय आयोग नीतिगत तथा व्यवस्थापकीय चुनौतीसँग जुधिरहेको अवस्थामा नयाँ नेतृत्वबाट सुधारको अपेक्षा गरिएको हो।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको भूमिका केवल प्रशासनिक नेतृत्वमा सीमित हुँदैन। आयोगले सञ्चालन गर्ने एमबीबीएस, बीडीएस, नर्सिङलगायत स्वास्थ्य शिक्षा कार्यक्रमका प्रवेश परीक्षा, विद्यार्थी भर्ना, छात्रवृत्ति व्यवस्थापन, मेडिकल कलेजको नियमन, सिट निर्धारण तथा गुणस्तर सुनिश्चित गर्ने कार्यमा उपाध्यक्षले प्रत्यक्ष नेतृत्व गर्नेछन्।
प्रा. डा. खत्री नेपाली सेनाको स्वास्थ्य सेवामा लामो समय कार्यरत रही उपरथी पदबाट अवकाश प्राप्त गरेका चिकित्सक हुन्। सैनिक सेवाका क्रममा उनले स्वास्थ्य सेवा व्यवस्थापन, अस्पताल प्रशासन, चिकित्सा जनशक्ति विकास तथा चिकित्सा शिक्षाका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। यही अनुभवका आधारमा उनले आयोगको संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
चिकित्सा शिक्षा आयोगका संस्थापक उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीका अनुसार डा. खत्री चिकित्सा शिक्षाका अनुभवी प्राध्यापक हुन्।
“प्रा. डा. खत्री मेडिकल शिक्षाका प्राध्यापक हुनुहुन्छ। नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो,” प्रा. डा. गिरीले नागरिकसँग भने, “सैनिक अस्पताल र चिकित्सा शिक्षालाई जोड्ने काममा उहाँको अनुभव उल्लेखनीय छ।”
उनले थपे, “आयोगमा शैक्षिक तथा प्रशासनिक केही चुनौती छन्। उहाँको नेतृत्व सफल रहने अपेक्षा छ।”
उनका अनुसार नेपालमा चिकित्सा शिक्षा लामो समयदेखि शुल्क निर्धारण, सिट व्यवस्थापन, निजी मेडिकल कलेजको नियमन, छात्रवृत्ति वितरण तथा दुर्गम क्षेत्रका लागि चिकित्सक उत्पादन जस्ता विषयमा विवाद र बहसको केन्द्र बन्दै आएको छ।
यस्ता चुनौतीबीच आयोगको नेतृत्व सम्हालेका डा. खत्रीमाथि चिकित्सा शिक्षा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, उत्तरदायी र गुणस्तरीय बनाउने जिम्मेवारी रहेको छ।
को हुन् प्रा. डा. देवेन्द्र खत्री?
प्रा. डा. देवेन्द्र खत्री चिकित्सक तथा चिकित्सा शिक्षाविद् हुन्। उनले नेपाली सेनाको स्वास्थ्य सेवामा तीन दशकभन्दा बढी विभिन्न जिम्मेवारी सम्हालेका छन्। स्वास्थ्य सेवा व्यवस्थापन, अस्पताल सञ्चालन, चिकित्सक उत्पादन तथा चिकित्सा शिक्षा विकासका क्षेत्रमा उनी अनुभवी मानिन्छन्। सेनामा रहँदा उनले नीति निर्माणदेखि सेवा व्यवस्थापनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमार्फत चिकित्सा शिक्षा विस्तार, स्वास्थ्य जनशक्ति उत्पादन तथा अनुसन्धान प्रवर्द्धनमा पनि उनको योगदान रहेको जानकारहरू बताउँछन्। सैनिक अस्पतालको सेवा विस्तार तथा स्वास्थ्य सेवाको संस्थागत सुधारमा समेत उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
आयोगमा उनको जिम्मेवारी
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल, डेन्टल, नर्सिङ तथा अन्य स्वास्थ्य शिक्षा कार्यक्रमको नीति निर्माण, नियमन, अनुगमन र समन्वय गर्छ। आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ भने उपाध्यक्ष कार्यकारी प्रमुख का रूपमा दैनिक प्रशासन, नीतिको कार्यान्वयन तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्छन्।
निर्वर्तमान उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीका अनुसार डा. खत्रीले आयोगको नेतृत्व सम्हालेसँगै प्रवेश परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउने, छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने, मेडिकल कलेजहरूको गुणस्तर अनुगमन प्रभावकारी बनाउने तथा चिकित्सा शिक्षालाई राष्ट्रिय आवश्यकताअनुसार उन्मुख गराउने जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेछ।
प्रशासनिक नेतृत्व र स्वास्थ्य व्यवस्थापनमा लामो अनुभव भएका कारण डा. खत्रीले आयोगलाई संस्थागत रूपमा थप सुदृढ बनाउन सक्ने अपेक्षा गरिएको छ। चिकित्सा शिक्षा सुधारको उद्देश्य हासिल गर्न ऐनको प्रभावकारी कार्यान्वयन, राजनीतिक हस्तक्षेप न्यूनीकरण तथा गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने चुनौती उनको अगाडि रहेको छ।


प्रतिक्रिया