अव्यवस्थित पहिचान गरी नापनक्सा गरेर निस्सासमेत वितरण भइसकेको जमिनको निस्सा नगरपालिकाले रद्द गरेपछि त्रियुगा नगरपालिका ९ गहिरुननजिकैको सिङ्गो बस्ती अन्यौलमा परेको छ।
सो ठाउँको ७ बिघा क्षेत्रफल जमिनलाई अव्यवस्थित पहिचान गरी दर्ता प्रक्रियाका लागि नापनक्सा गरी वितरण गरेको अस्थायी निस्सा रद्द गर्दा बस्तीवासी अन्यौलमा परेका हुन्। नगरपालिका भूमि व्यवस्थापन शाखाले असार १९ गतेको मितिमा जारी गरेको सूचना अनुसार गत जेठ २९ गते बसेको ६२ औँ नगर कार्यपालिका बैठकको निर्णयलाई उद्धृत गर्दै सो जमिनको निस्सा रद्द गरेको जानकारी दिएको छ। भूमि व्यवस्थापन शाखा अधिकृत रूपक तिम्सिनाको हस्ताक्षर रहेको उक्त सूचनामा निस्सा खारेज गर्ने निर्णय अन्तर्गत सो जमिन स्वामित्व लिन खोज्ने १७ जनाको नाम लिस्ट उल्लेख छ।
सूचनामा नगरकार्यपालिकाले सो जमिन भुलवश अव्यवस्थित बस्तीअन्तर्गत परेको र नापनक्सा गरेर निस्सासमेत वितरण गरेको तर, पछि आएर फिल्ड सर्वेक्षण गर्दा जमिन अर्कैको भएको प्रमाणित भएकाले निस्सा रद्द गर्नु परेको उल्लेख छ। सो जमिन भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वितरण गर्ने गरी नापी गरेर अस्थायी निस्सा वितरण गरिसकेको भए पनि जमिनमाथि अरूकै दाबी परेपछि फिल्ड सर्वेक्षण गरेर निस्सा रद्द गरिएको तिम्सिनाले बताएका छन्।
अधिकृत तिम्सिनाका अनुसार त्रियुगा नगरपालिकाले ९ नं. वडा गैरुनस्थित इँटाभट्टाभन्दा दक्षिणतर्फ सरस्वती टोल विकास संस्थाक्षेत्रभित्र पर्ने ७ बिघा ऐलानी जग्गा व्यवस्थापन गर्न नापनक्सा गरी निस्सा वितरण गरेको थियो। तर, सो ठाउँको जमिनको अनधिकृत कनिबेच र बसोबास भइरहेको भन्ने खबर आएपछि नगरपालिकाले चासो लिएर स्थलगत र निरीक्षण, सोधपुछ र अनुसन्धान गर्दा जमिन अरूकै भएको पाइएकाले निस्सा रद्द गरिएको तिम्सिनाले बताए।
उनका अनुसार सो जमिन विद्यालय र दनुवार जागरण समाजमातहत खेलमैदानका लागि खाली छाडिएको पुष्टि भएको छ। तर, अझै सबै कुरा प्रस्ट भने भइसकेको छैन। ‘जमिन जजसले दाबी गरेर नापजाँच गरी निस्सा लिएका छन्, उनीहरूको होइन भन्ने प्रमाणित भइसकेरै रद्द गरिएको हो’ तिम्सिनाले भने ‘तर, सबै यथार्थ कुरा भने अझै पत्ता लागिसकेको छैन, नगरपालिका अध्ययनकै क्रममा छ।’
नगरकार्यपालिकाको निर्णय अनुसार निस्सा खारेज भएपछि लालपुर्जाको पर्खाइमा रहेका १७ घरधुरी लाभग्राही भने विलखबन्दमा परेका छन्। ऐलानी जग्गा नापी गर्न आवश्यक फाराम भरेर नापजाँच गराई अस्थायी निस्सा लिइसकेको जमिन अब नपाउने सूचना पाएपछि निस्सादारहरू नगरप्रमुख भेट्न आएका थिए। उनीहरूले मेयर वसन्त बस्नेतलाई भेटेर सो जमिन चलन चल्तीको मूल्यमा किनेर वर्षौँदेखि भोग चलन गर्दै आएकाले स्वामित्व पाउनुपर्ने आग्रह गरेका छन्।
मेयर बस्नेतले जग्गा अरूकै भएको प्रमाण फेला परेकाले निस्सा बदर प्रक्रिया अघि बढाइएको बताउँदै यसबारे के गर्न सकिन्छ अध्ययन गरेर भन्ने जवाफ दिएका छन्। अघिल्लो नगरकार्यपालिकाको निर्णय अनुसार निस्सा वितरण भए पनि कम्प्युटर प्रविष्ट गर्न बाँकी रहेको बताउँदै मेयर बस्नेतले तर, सकेसम्म वास्तविक सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरूलाई जमिन खोस्ने भन्दा खोजेर व्यवस्थापन गर्ने आश्वासन दिएका छन्।
निस्सा रद्दमा पर्ने जग्गाधनीहरूले अघिल्लो कार्यकालकै नगरपालिकाले जग्गा दिने गरी नापनक्सा र दर्ता प्रक्रिया अघि बढेकाले अहिले आएर बदर गर्नुले आफूहरू गम्भीर अन्यायमा परेको गुनासो गरेका छन्। ०७४–०७९ का नगरप्रमुख बलदेव चौधरीकै पालामा भोग चलन गर्दै आएको जमिन नापनक्सा र धनी पुर्जा वितरण प्रक्रिया अघि बढिसकेको जमिन खोस्ने काम गर्न नपाउने भन्दै उनीहरूले यसबारे कानुनी लडाइँ लड्ने चेतावनी पनि दिएका छन्।
निस्सा बदरमा परेका १७ जना जग्गाधनीले मंगलबार मेयर बस्नेतसमक्ष आफ्नो जमिन नखोस्न आग्रह गर्दै वर्षौँदेखि भोग चलन गर्दै आएको जमिनको लालपुर्जा लिन सरकारले तोकेको सबै प्रक्रिया पुरा गरिसकेको दुखेसो गरेका छन्। जग्गा नपाउने अवस्था सिर्जना भएपछि सो जग्गा सार्वजनिक वा अन्य कसैको भएको भए वितरण प्रक्रिया सुरु गर्नुअघि नै आफूहरूलाई जानकारी गराउनुपर्थ्यो भन्ने उनीहरूको भनाइ छ।


प्रतिक्रिया