मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) को आयोजनामा हुन लागेको ‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को आधिकारिक खेल तालिका सार्वजनिक गरिएको छ।

काठमाडौंको धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा आयोजित पत्रकार सम्मेलनमार्फत बिहीबार प्रतियोगिताको खेल तालिका तथा प्रतिस्पर्धात्मक संरचना सार्वजनिक गरिएको हो।

एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्कीको उपस्थितिमा सम्पन्न कार्यक्रममा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका लागि आधिकारिक ‘ड्र’ सम्पन्न गरिएको थियो।

मुख्य प्रतियोगिता आगामी असार २० र २१ गते धन्वन्तरी स्पोर्ट्स हबमै आयोजना हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार पुरुष फुटसल प्रतियोगितामा १८ टोली सहभागी रहनेछन्, जसलाई ६ समूहमा विभाजन गरिएको छ।

महिला फुटसलतर्फ ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। ब्याडमिन्टनतर्फ पुरुष डबल्समा ५, महिला डबल्समा ६ र भेट्रान्स डबल्समा २ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

टेबलटेनिसतर्फ पुरुष एकलमा १४ खेलाडी, महिला एकलमा ५ खेलाडी तथा भेट्रान्स एकलमा ५ खेलाडी सहभागी हुने सुनिश्चित भएको छ।