वीरगन्जको मुख्य सडक विस्तारका क्रममा घर र सटर भत्काइएका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर आफ्नो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्।
रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नं-१ का प्रतिनिधि सभा सदस्य हरि पन्तको अगुवाइमा पीडितहरूले बिहीबार लामिछानेसँग भेट गरेका हुन्।
भेटघाटका क्रममा वीरगन्ज महानगरपालिकाका पूर्वप्रमुख एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय सरावगी सहित संघका पदाधिकारीहरूले सडक विस्तारको नाममा वीरगन्जको मुख्य बजारलाई उजाड्न खोजिएको गुनासो गरे।
उनीहरूले ऐतिहासिक वीरगन्ज बजार र स्थानीयको उठिबास हुनबाट जोगाउनका लागि सरकारसँग पहल गरिदिन सभापति लामिछानेसँग अपिल गरे।
पीडितहरूको समस्या सुनेपछि सभापति लामिछानेले यस विषयमा तत्कालै सम्बन्धित मन्त्रीलाई बोलाएर छलफल गर्ने र समस्याको उचित निकास निकाल्ने आश्वासन दिएका छन्।
भेटघाटको समन्वय गरेका प्रतिनिधि सभा सदस्य पन्तले सभापति लामिछाने वीरगन्जको समस्या समाधान गर्न सकारात्मक रहेको जानकारी दिए।
घनावस्ती रहेको वीरगन्जको मुख्य बजार क्षेत्रमा सडक विभागले करिब साढे दुई महिनाअघि डोजर चलाएर अधिकांश घर तथा सटरहरू भत्काएको थियो।
एउटै त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा अदालतले सडकको सीमा २५/२५ गज कायम गर्ने निर्णय गरेको तर वीरगन्जको सन्दर्भमा २५/२५ मिटरको फैसला गरेकाले आफूहरूमाथि ठूलो अन्याय भएको पीडितहरूको दाबी छ।


प्रतिक्रिया