नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी र अपहरणको शैली भनेका छन्।

सोमबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तापक्ष विपक्षी दलहरूप्रति पूर्वाग्रही बनेर नाङ्गो प्रतिशोधमा उत्रिएको आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले उपाध्यक्ष पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले छापामार शैलीमा नियन्त्रणमा लिएको उल्लेख गरे।

वक्तव्यमा भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।’

एमालेले उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जानकारी गराउँदै सरकारले सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाएको बताएको छ।

जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उपस्थित गराएर प्रक्रिया अगाडि बढाउन सकिने विकल्प हुँदाहुँदै नियतवश पक्राउ गरिएको एमालेको ठहर छ।

सार्वजनिक पद धारण गरिसकेका र कानुनको सम्मान गर्ने व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको वक्तव्यमा उल्लेख छ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै सरकारको यस कदमको डटेर सामना गर्ने चेतावनी दिए।

‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ, विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ वक्तव्यमा भनिएको छ।

सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न एमालेले सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान समेत गरेको छ।

पार्टीले विधिको शासन र सुशासनको पक्षमा आफू सधैँ दृढ रहेको स्पष्ट पार्दै सत्ताको उन्मादमा गरिने अधिनायकवादी कदमको डटेर सामना गर्ने उद्घोष गरेको छ।

उपाध्यक्ष पौडेललाई सोमबार दिउँसो सुर्खेतबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनलाई हाल नेपालगञ्जमा राखिएको छ भने भोलि बिहान काठमाडौं ल्याउने तयारी भइरहेको छ। पौडेल पक्राउ परेलगतै एमालेका शीर्ष नेताहरूले सामाजिक सञ्जाल र औपचारिक वक्तव्यमार्फत सरकारको आलोचना गरिरहेका छन्।