नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै त्यसका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
पार्टीका सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले सरकारको यो कदम राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध एकजुट हुन अपिल गरिएको छ।
वक्तव्यमा भनिएको छ, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछौँ।’
एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप समेत लगाएको छ।
उपाध्यक्ष पौडेललाई गैरकानुनी ढंगले अपहरणको शैलीमा गरिएको पक्राउ गरिएको भन्दै एमालले त्यसको घोर निन्दा र भर्त्सना गरेको छ।
अध्यक्ष ओलीले यो दमनकारी कदम आफू र नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको बताए।
विपक्षी दलहरू र तिनका नेताहरूलाई लक्षित गरी अख्तियार गरिएका यस्ता अराजनीतिक र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न एमालेले सरकारलाई चेतावनी दिएको छ।
वक्तव्यमा उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जानकारी गराउँदै सरकारले सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाएको उल्लेख छ।
जुनसुकै बेला सोधपुछ गर्न सकिने वा व्यक्तिको उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको एमालेको दाबी छ।
‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,’ वक्तव्यमा भनिएको छ।
एमालेले विधिको शासन र सुशासनको पक्षमा आफू सधैँ दृढ रहेको स्पष्ट पार्दै सत्ताको उन्मादमा गरिने यस्ता अधिनायकवादी कदमको डटेर सामना गर्ने बताएको छ।
विपक्षी दलका नेताहरूमाथि लक्षित निकृष्ट हर्कतहरूले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै एमालेले सरकारको कदमलाई राजनीतिक षड्यन्त्रको उपज भनेको छ।
उपाध्यक्ष पौडेललाई सोमबार दिउँसो सुर्खेतको होटल शुभमबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
हाल उनलाई नेपालगञ्ज पुर्याइएको छ भने भोलि बिहान हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।
यसअघि उपाध्यक्ष पौडेलको भैसेपाटीस्थित निवासमा समेत विभागको टोलीले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया