पहिलो चरणमा सबै टोलीले बराबरीको नतिजा आत्मसात गरेका कारण समूह ‘बी’ अहिले निकै सन्तुलित बनेको छ। क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जेगोभिनासहित सबै टोलीको समान १–१ अंक छ।
सबै टोलीलाई दोस्रो चरणको खेलमा जित हासिल गरे नकआउट चरणको संघारमा पुग्न सकिने राम्रो अवसर रहेको थाहा छ।
क्यानडा भर्सेस कतार
नेपाली समयअनुसार शुक्रबार बिहान ३ः४५ बजे भ्यानकोभरस्थित बीसी प्लेसमा कतारसँग खेल्दा सह-आयोजक क्यानडा ऐतिहासिक पहिलो जितको लक्ष्यमा हुनेछ। उच्च अपेक्षाका बाबजुद क्यानडाले आफ्नो पहिलो खेलमा बोस्नियासँग संघर्ष गर्नुपरेको थियो।
जेसी मार्शको नेतृत्वमा रहेको क्यानडा खेलअवधिभर नर्भस देखिएको थियो। टोलीमा फाइनल थर्डमा आवश्यक शार्पनेसको कमी देखियो। अन्ततः निर्धारित समय सकिन १४ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर काइल लारिनको गोलमा क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्यो।
त्यसअघि जोभो लुकिकको गोलमा बोस्नियाले २१औँ मिनेटमा अग्रता लिएको थियो। यो क्यानडाका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बन्यो, किनभने विपक्षीबाट सुरुवाती गोल खाने क्रम फेरि पनि दोहोरियो। पछिल्ला सात खेलमध्ये ६ खेलमा क्यानडाले पहिलो गोल खाएको छ।
कतारसँगको खेलअघि कप्तान अल्फोन्सो डेभिजको फिटनेस फेरि एकपटक चर्चाको विषय बनेको छ। बायर्न म्युनिखका स्टार खेलाडी डेभिजले ह्यामस्ट्रिङ समस्याका कारण बोस्नियाविरुद्धको खेल गुमाएका थिए। यदि कतारविरुद्ध उनको उपस्थिति रहने हो भने क्यानडाको आक्रमण निकै बलियो बन्नेछ।
सन् २०२२ मा यी दुई टोलीले पछिल्लोपटक एकअर्कासँग खेलेका थिए। अस्ट्रियामा सम्पन्न मैत्रीपूर्ण खेलमा क्यानडा २–० ले विजयी भएको थियो। क्यानडाले त्यस खेलको नतिजाबाट आत्मविश्वास लिन सक्छ।
वर्तमान टोलीका डेभिज, म्याक्सिम क्रेपाउ, रिची लारिया, डेरिक कर्नेलियस र जेडेन नेल्सन बीसी प्लेसबारे राम्रो जानकार छन्। उनीहरू सबैले युथ वा सिनियर स्तरमा भ्यानकोभर ह्वाइटक्याप्सको प्रतिनिधित्व गरेका थिए।
कतार भने स्विट्जरल्यान्डविरुद्ध नाटकीय बराबरी खेल्दै भ्यानकोभर पुगेको छ। युलियन लोपेटेगीको नेतृत्वमा रहेको कतार खेलभर ‘लो ब्लक’ रणनीतिमा खेलेको थियो।
अन्त्यमा होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले ९०+४ मिनेटमा हेडरमार्फत बललाई जाली चुमाए। गोलसँगै अन्तिम सिटी बज्दा युलियन लोपेटेगीको नेतृत्वमा रहेको कतारको उत्सव हेर्नलायक थियो।
एसियन च्याम्पियन कतारले पछिल्ला सात खेलमा जित हासिल गर्न सकेको छैन। यी खेलहरूमा कतारले एक गोलभन्दा बढी गर्न सकेको छैन। तर, स्विट्जरल्यान्डविरुद्ध देखाएको दृढ संकल्पलाई कम आकलन गर्न मिल्दैन।
स्विट्जरल्यान्ड भर्सेस बोस्निया
क्यानडाविरुद्धको प्रदर्शनले बोस्नियालाई आगामी यात्राका लागि ऊर्जा दिएको छ। टोलीले निकै अनुशासित खेल प्रदर्शन गरेको थियो। यद्यपि बोस्नियाले सोचेजस्तो अन्तिम नतिजा पाउन सकेन। पहिलो खेलमै बाक्लो समर्थकको साथ रहेको सह–आयोजकविरुद्ध बराबरी खेल्नु बोस्नियाका लागि ठूलो उपलब्धि हो।
बोस्निया पछिल्ला ९ खेलमा अपराजित छ। यद्यपि निर्धारित समयको कुरा गर्ने हो भने ती ९ मध्ये ६ खेल बराबरीमा सकिएका छन्। स्विट्जरल्यान्डका लागि यो चिन्ताको विषय बन्न सक्छ।
कतारअघि अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेको थियो। नेपाली समयअनुसार बिहीबार मध्यराति १२ः४५ बजे हुने खेलमा स्विट्जरल्यान्ड पक्कै पनि यो बराबरीको लय तोड्न चाहन्छ।
उता कतार र क्यानडा ऐतिहासिक पहिलो जितको खोजीमा रहेका बेला समूह ‘बी’का दोस्रो चरणका खेलहरू निकै रोमाञ्चक र नाटकीय हुने निश्चित देखिएको छ।


प्रतिक्रिया