नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने स्पष्ट खाका र गन्तव्य एमालेसँग मात्र रहेको दाबी गरेका छन्।

लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा बिहीबार आयोजित पार्टीको सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले एमाले विचार र संगठनमा बाँधिएको बलियो शक्ति भएकाले विरोधीहरूले फैलाएको भ्रमका पछाडि नलाग्न पार्टीपङ्तीलाई आह्वान गरे।

‘नेकपा (एमाले) अरूले भने जस्तो सिद्धिएको छैन, हामी सिद्धिएका छैनौं,’ उनले भने, ‘हामीसँग बलियो जनाधार, योग्य जनप्रतिनिधि र जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा देशको समग्र रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण छ।’

उनले एमाले नेतृत्वको सरकारले विगतमा गरेका कामहरूले नै पार्टीको सामर्थ्य पुष्टि गर्ने उल्लेख गरे। भूकम्पपछिको पुनर्निर्माण, सामाजिक सुरक्षाका नयाँ कार्यक्रम, सडक तथा पूर्वाधार विकास र राष्ट्रियताका पक्षमा लिएका दृढ अडानका कारण विपक्षीहरू अत्तालिएको उनको टिप्पणी थियो।

‘हामीले सरकारमा रहँदा गरेका ऐतिहासिक काम मन नपराउने विरोधीहरूले वैधानिक रूपमा नसकेपछि विध्वंश मच्चाएर सत्तापलट गरेका हुन्,’ अध्यक्ष ओलीले आरोप लगाए।

सुकुम्वासीमाथिको ज्यादती, ट्रेड युनियन, सञ्चारमाध्यम र विद्यार्थी संगठनमाथि भइरहेका हमलाका विरुद्ध एमालेले सशक्त प्रतिकार गर्ने उनको चेतावनी थियो। उनले भने, ‘प्रधानमन्त्रीको षडयन्त्रपूर्ण अभिव्यक्ति र देशविरोधी क्रियाकलापलाई उच्च मनोबलका साथ पराजित गर्नुपर्ने बेला आएको छ।’

पार्टीभित्र देखिएको सांगठानिक अराजकतालाई अन्त्य गर्न केन्द्रीय कमिटीले गम्भीर र कठोर निर्णयहरू लिने तयारी गरेको समेत उनले जानकारी दिए। यतिबेला पार्टीमा सुदृढ एकताको खाँचो रहेको भन्दै उनले नेतृत्व परिवर्तनको चर्चालाई असामयिक र असान्दर्भिक भने।

‘यो पार्टी धेरैको रगत–पसिना र बलिदानबाट बनेको हो, यसलाई कसैले भत्काउन खोजे पनि सफल हुन दिन्नौँ,’ उनले थपे, ‘तपाईंहरूले महाधिवेशनबाट छानेको अध्यक्षले कहिल्यै अनैतिक काम गर्दैन र सत्यको बाटो छाड्दैन।’