जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाका तीन बालक दुई रात जङ्गलमा हराएपछि अन्ततः सकुशल अवस्थामा फेला परेका छन्। विद्यालय जान भन्दै घरबाट निस्किएका बालकहरूलाई स्थानीयवासी र प्रहरीको सक्रिय खोजीपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उद्धार गरिएको हो।
फेला पर्ने बालकहरूमा खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय रहेका छन्। उनीहरू घरबाट विद्यालयका लागि निस्किएका थिए। तर साँझसम्म घर नफर्किएपछि अभिभावक चिन्तित बनेका थिए।
प्रारम्भिक चरणमा आफन्त र स्थानीयवासीले विद्यालय, गाउँका बाटा, हिमा नदी किनार, नराकोट बजार तथा आसपासका क्षेत्रमा खोजी गरेका थिए। कुनै जानकारी प्राप्त नभएपछि इलाका प्रहरी कार्यालय नराकोटमा खबर गरिएको थियो।
त्यसपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। व्यापक खोजी अभियानका क्रममा जुम्ला र कालीकोटको सिमानामा पर्ने उच्च स्थानको खेतीखर्क नजिकको जङ्गल क्षेत्रमा उनीहरू फेला परेका हुन्।
वडाध्यक्ष तीर्थ वडका अनुसार स्थानीयको निरन्तर सक्रियता र प्रहरीको समन्वित प्रयासकै कारण बालकहरूलाई सुरक्षित रूपमा उद्धार गर्न सम्भव भएको हो।
इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू सोमबार काफल खान भन्दै जङ्गलतर्फ गएका थिए। जङ्गलको भित्री भागसम्म पुगेपछि उनीहरू बाटो बिर्सिएर अर्कोतर्फ लागेका थिए। घर फर्किने बाटो नभेटेपछि उनीहरूले दुई रात जङ्गलकै एक एनसेल टावरमुनि आश्रय लिएर बिताएका थिए।
ती बालक नराकोटस्थित निजी विद्यालय ‘सालम बोर्डिङ स्कुल’का विद्यार्थी हुन्। विद्यालयकै पोसाकमा रहेका उनीहरूलाई भेडीगोठालाले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी अभिभावकको जिम्मा लगाएको हो।
दुई दिनसम्म हराएका साना बालकहरू कठिन परिस्थितिमा पनि सकुशल अवस्थामा भेटिएपछि गाउँभर राहत र खुसीको वातावरण छाएको छ। बालकहरू सुरक्षित फर्किएसँगै अभिभावक, आफन्त र स्थानीयवासीले राहतको सास फेरेका छन्।


प्रतिक्रिया