पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ । फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो । जेठ १० गतेबाट शुरु भएको अभियान अन्तर्गत फिर्केखोला खोलाघरमा बनेका १६० वटै संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ । अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात गाडिएका ५ सय ८८ वटा सीमा स्तम्भहरु भित्र परेका सबै संरचना भत्काइएको दाबी महानगरको छ ।

महानगरले सबै संरचना भत्काएको बताए पनि स्थायी संरचना भने आंशिक रुपमा मात्रै भत्काएको पाइएको छ । महानगरले गत वर्ष बनाएको प्रतिवेदनमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएको उल्लेख छ । त्यसमध्ये अस्थायी संरचना पूर्ण रुपमा भत्काएको पाइएको छ भने स्थायी संरचनामध्ये अधिकांश आंशिक मात्रै भत्काएको छ । खोलाघरमै बनेका १८ वटा र मापदण्ड मिचेर बनाइएका ३५ वटा स्थायी संरचनामा महानगरले डोजर चलाए पनि पूर्ण रुपमा नभत्काई छाडेको छ । कतिपय घरधनी आफैले भत्काउने शर्तमा छाडिएको छ भने कतिपय भौगोलिक जटिलताका कारण त्यसै छाडेको पाईएको छ ।

पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम थापाले अस्थायी संरचना पूर्ण रुपमा हटाइएको र स्थायी संरचना आंशिक हटाइएको बताए । फिर्केमा संरचना हटाउने अभियान सम्पन्न भयो,उनले भने,‘अस्थायी संरचना पूर्ण रुपमा हटायौं, अब आंशिक हटाएर बाँकी रहेको संरचना घरधनी आफैले हटाउनुहुनेछ ।’

महानगरले लिटिल स्टेप मावि, लिंकन कलेज, ज्ञानबहादुर कोइरालालगायतका घरका संरचनाहरु आंशिक रुपमा भत्काएर छाडेको हो । ती भवनहरुमा महानगरले प्रयोग गरेको डोजरले ठाउँठाउँमा प्वाल पारेर त छाडेको छ तर पूर्ण रुपमा भत्काएर नफाल्दा यसको सौन्दर्यकरण अभियानको गति रोकिने आशंका व्यक्त गरिएको छ ।

अर्कोतर्फ महानगरले डोजर लगाएर भत्काएका भवनका सामाग्री तथा डोजर हिंड्दा निस्केको माटो असरल्ल छाडिएका छन् । जसले फेवाताल पुरिने जोखिम बढेको छ । किनकी फिर्केको अन्तिम गन्तव्य फेवाताल भएकाले यस बिचमा ठूलो वर्षा भएमा त्यहाँ असरल्ल छाडिएका सामग्री फेवातालमा पुग्ने निश्चित छ । उसो त पहिलेदेखि नै फिर्केबाट बगेर जाने माटो र फोहोरले फेवातालमा टापु बनाएको छ । त्यसमाथि अहिले भत्काएका सामग्री असरल्ल छाडिदा त्यसमा मलजल हुने नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताए । उनले भने,‘यो पहिलेदेखिकै समस्या हो, अहिले भत्काइएका सामग्रीको पनि व्यवस्थापन नभए फेवातालमा फिर्केले बनाएको फोहोरको टापु थप बढ्ने पक्का छ ।’

यसबारे प्रश्न उठेपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फिर्केका भत्काइएका सामग्री र माटो बगाएर फेवातालमा नपुगोस् भनेर फेवातालभन्दा माथि नै अस्थायी चेकड्याम बनाउने सामाजिक सञ्जालमार्फत जनाएका छन् । विदेश भ्रमणमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ऐले फिर्केखोला खोजिका क्रममा निस्केको माटो तथा अरु सामाग्री व्यवस्थापन गर्ने काम शुरु भएको छ । र ऐले हटाइएका माटो बगेर फेवाताल नपुगोस् भन्नाका लागि गाईघाटमा अस्थायी चेकड्याम बनाउने काम तुरुन्तै शुरु गरिनेछ ।’

तर मेयर आचार्यले भनेजस्तो चेकड्याम बनाउने काम तत्काल हुने सम्भावना भने देखिएको छैन । किनभने यसका लागि महानगरले तयारी नै शुरु गरेको छैन । चेकड्याम निर्माणबारे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अनभिज्ञता प्रकट गरे । चेकड्याम बनाउने भनेर आफू आउनुभन्दा अगाडि नै निर्णय भएकाले त्यसबारे आफूलाई थाहा नभएको उनको भनाई छ । बनाउनलाई बजेट त छुट्याइएको छ,उनले भने,‘तर कहिले बन्छ, कहाँ बन्छ र कहिले थालिन्छ भन्नेबारेमा थाहा भएन ।’

सहरी विकास तथा पर्यटन महाशाखा प्रमुख विमल कार्कीले पनि चेकड्याम बनाउने भनिए पनि कहिले बनाउने भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए । यसको जिम्मेवारी मलाई छैन,उनले भने,‘यसबारे अध्ययन नै भएको छैन, पहिले अध्ययन गर्नुपर्छ, खोलाघर हेरेर माटो र फोहोर कहाँ थिग्रिन्छ त्यसलाई लोकेट गरेर बनाउनुपर्छ ।’

महानगरका पूर्वाधार निर्माण महाशाखा ईञ्जिनियर शिशिर अर्यालले पनि अस्थायी चेकड्याम निर्माणबारे जानकारी नभएको बताए । पोखरा–४ र ५ को सिमानामा पर्ने फिर्केपुल नजिक, पोखरा–७ मासवारस्थित मुख्यमन्त्री कार्यालय नजिक र पोखरा–१७ गाईघाटमा स्थायी चेकड्याम बनाउने भनेर भनिएको उनको भनाई थियो । ‘अस्थायीबारे जानकारी भएन, सायद अर्कै समिति बनाएर काम भइरहेको होला ।’

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष पौडेल भने चाँडोभन्दा चाँडो अस्थायी चेकड्याम बनाउनुपर्ने बताउँछन् । तयारी नै नगरी हतारमा काम गरेजस्तो भयो,उनले भने,‘फिर्केखोला खोज्ने र त्यहाँ रहेका संरचना भत्काउने काम राम्रो हो । तर भत्काइएपछि निस्किएका सामाग्री र माटोको व्यवस्थापन पनि गरिहाल्नुपर्छ । नत्र त्यो बगेर फेवातालमा पुग्ने र पुरिने खतरा रहन्छ ।’ पहिला चेकड्याम बनाएर भत्काउन शुरु गर्नुपर्नेमा अहिले भत्काईसकेपछि पनि नबनाउनु लापरवाही भएको उनले टिप्पणी गरे । विरोधको लागि विरोधजस्तो हुन्छ र मनोवल घट्छ कि भनेर हामी चुप छौं,उनले थपे,‘अहिले हेर्दा त देखाउनका लागि कस्मेटिक मात्रै काम भयो । हामी पनि प्रश्न गर्छौंः कहिले बन्ने हो मेयर ज्यू अस्थायी चेकड्याम, हामीलाई बताईदिनूस् ।’

फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।